डा केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै, मागबारे खुला रुपमा छलफल गर्न नेकपा तयार

विदुर खबर २०७५ साउन ३ गते १:५१

नुवाकोट,जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएको छ। सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा केसीको श्वासप्रस्वासमा समेत समस्या देखिन थालेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

बुधबार उनको श्वासप्रस्वासमा निकै समस्या देखिएपछि अक्सिजनको सहायताले अवस्था सामान्य बनाइएको थियो। मुटुको चाल परिवर्तन भइरहेकाले यसले खतराको संकेत गरेको डा केसीको हेरचाहमा संलग्न डा धीरज गुरुङका बताउँछन्। केसीले औषधि लिन नमानेका कारण पनि नसामा संक्रमण भइरहेको छ। उनको स्लाइन चढाइएको हात सुन्निएको छ। उनलाई दिनहुँजसो फिजियोथेरापीमार्फत अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएको छ।

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालयको आकस्मिक बैठकले जुम्लामा १९ दिनदेखि अनसनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि तत्कालै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि ल्याउने र उनका मागका विषयमा खुला रुपमा छलफल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका बसेको बैठकले डा केसीले कुनै पनि हालतमा अनसन नतोड्ने भएकाले उनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिँदै सुविधासम्पन्न अस्पतालमा ल्याउने र मागका विषयमा छलफल अगाडि बढाउने निर्णय गरेको हो।

तर सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘म्यान्डेट’बिना वार्ता नहुने बताएका थिए। डा केसीले सरकारले  प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको जनाएका छन्। आवश्यक म्यान्डेट नै नदिई कर्मचारीहरु मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ। ‘यसबाट सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको तथा हामीले उठाएका एजेन्डाप्रति उदासीन रहेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थामा आफ्ना मागहरु सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने पनि केसीले स्पष्ट पारेका थिए।

‘वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं। त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं’, डा केसीले उल्लेख गरेका छन्।

तीन दिनयता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको थियो।

डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्।

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने लगायतका मागसहित डा केसी गत असार १६ देखि जुम्लामा अनसनमा छन्।

प्रतिक्रिया