नुवाकोटको त्रिशुली अस्पतालमा पीसीआर प्रयोगशाला स्थापना

नुवाकोट । कोभिड–१९ परीक्षणका लागि जिल्ला अस्पताल नुवाकोटमा पीसीआर प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ ।
बिहिवार संघीय सांसद हितबहादुर तामाङले ल्याबको उद्घाटन गर्नुभयो । अब नुवाकोट, रसुवा र धादिङ जिल्लाका कोरोना संक्रमितको स्वाब परीक्षण गर्न काठमाडौं वा अन्यत्र पठाउन नपर्ने भएको छ । संघीय सांसद नारायणप्रसाद खतिवडाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत ल्याब स्थापना गरिएको अस्पताल विकास समितिले जानकारी दिएको छ ।
प्रदेश उपसभामुख राधिका तामाङले सबैको पहलमा ल्याब स्थापना भएकाले नि:शुल्क स्वाब परीक्षण हुने बताउनु भयो । उक्त पीसीआर मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्छ । रिपोर्ट पनि २४ घण्टामै दिन सकिने त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो ।
विदुर नगरपालिकाले असोज १५ मा पीसीआर मेसिन खरिद गरी त्रिशूली अस्पताललाई दिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेव पोखरेलका अनुसार मेसिनको मूल्य भ्याटसहित ८६ लाख रुपैयाँ परेको छ ।
प्रतिक्रिया