लघुवित्तलाई ३ नम्बर प्रदेश नै ‘प्यारो’, दुर्गम भन्दा सुगम रोज्दै

विदुर खबर २०७७ असोज १० गते १०:१५

नुवाकोट ।  कवि सिद्धिचरण श्रेष्ठलाई ओखलढुङालाई प्यारो लागेजस्तै लघुवित्त वित्तीय संस्थालाई भने ३ नम्बर प्रदेश प्यारो लाग्ने गरेको छ । सबैभन्दा धेरै लघुवित्तका शाखा ३ नम्बर प्रदेशमा भएकाले लघुवित्त संस्थाको पहिलो रोजाइ उक्त प्रदेश हुने गरेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले कुल ८४ लघुवित्त सञ्चालनमा छन् । ती लघुवित्तका ४ हजार ७० शाखा छन् ।लघुवित्तहरुका कुल शाखाहरु मध्ये करिव आधा शाखा ३ नम्बर प्रदेशमा नै छन् । ३ नम्बर प्रदेशमा १ हजार ९३४ शाखा छन् ।३ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा सुगम मानिन्छ । काठमाडौं, भक्तपुर, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली र सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रमा पर्दछन् ।

३ नम्बर प्रदेशमा धेरै लघुवित्तका शाखा रहेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले बताए । ‘धेरै जसो लघुवित्तका केन्द्रीय कार्यालय बनेपामा रहेको छन्,’ उनले भने, ‘शाखा कार्यालय पनि त्यही क्षेत्रमा नै बढी छन् ।’

Advertisement

प्रदेश ५ लघुवित्त संस्थाहरुको दोस्रो धनी प्रदेश हो । प्रदेश ५ मा ९६१ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त प्रदेशमा अर्घाखाँची, बाँके, वर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, नवलपरासी, पाल्पा, प्युठान, रोल्पा, रुकुम (पूर्वी) र रुपन्देही पर्दछन् ।

सबैभन्दा कम लघुवित्त संस्थाहरु प्रदेश ६ मा रहेका छन् । प्रदेश ६ मा २०२ लघुवित्तका शाखा मात्र छन् । प्रदेश ६ मा दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, रुकुम (पश्चिम), सल्यान र सुर्खेत पर्दछन् ।

Advertisement

यसैगरी, प्रदेश १ मा ६८२, प्रदेश २ मा ६१९, प्रदेश ४ मा ७६१ र प्रदेश ७ मा ३६४ लघुवित्तका शाखा पुगेका छन् ।

लघुवित्तहरु दुर्गममा भन्दा बढी सुगमका केन्द्रीत हुँदै गएका छन् । सुगमा शाखा स्थापना गरेर लघुवित्तले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले भन्दा धेरै ब्याज लिएको आरोप लाग्दै आएको छ । सहकारीबाट लिएको ऋणको ब्याजदर १४.७५ प्रतिशत भन्दा बढी लिन नहुने निर्णय सरकारले गरेको छ ।

दुर्गममा जानु पर्ने भन्दै लघुवित्तले १६ प्रतिशत ब्याज लिइरहेका छन् । उनीहरुले चर्को ब्याज लिएका कारण ‘सामन्ती’ भएको आरोप खेप्दै आएका छन् । केही समयअघिसम्म १३–१४ प्रतिशत ब्याज बैंकबाट लिएर १८ प्रतिशतमा ऋण प्रवाह गर्दा पनि सामन्तको दर्जा दिइएकोमा चित्त दुखाइको बिषय भएको लघुवित्तका सञ्चालकहरु बताउँछन् ।

बैंकबाट कति ब्याजदरमा रकम लिएर लगानी गरिरहेका छन्, त्यतातिर हेर्दै नहेरी लघुवित्तलाई सामन्तको उपमा दिनु जायज नहुने तर्क उनीहरुको छ । ‘१३–१४ प्रतिशत ब्याज बैंकबाट लिएर १८ प्रतिशतमा लगानी गर्दा सामन्त हुने हो र?’ एक लघुवित्तका सञ्चालकले भने, ‘दुर्गम क्षेत्रमा घर दैलोमा गएर ऋण प्रवाह गर्दा प्रशासनिक खर्च धेरै हुने गरेको छ । यसतर्फ ध्यान नै नदिएर सामन्त भन्दा चित्त दुख्ने गरेको छ ।’

तर, अहिले लघुवित्तले १६ प्रतिशत भन्दा बढी ब्याज  लिन नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेकाे छ । अहिले बैंकमा प्रशस्त मात्रमा लगानीयाेग्य रकम (तरलता) रहेकाले कम ब्याजदरमा उनीहरूले लघुवित्तलाइ ऋणा प्रवाह गरिरहेका छन् ।

पुराना लघुवित्तले वितरण गर्ने लाभांशलाई हेरेर नयाँलाई पनि त्यही आँखाले नियामक निकाय नेपाल राष्ट्र बैंकले हेर्न नहुने तर्क लघुवित्त सञ्चालकहरुको  छ ।

पछिल्लो समय लघुवित्त सञ्चालन गर्न कठिन भएको भन्दै धमाधम धमाधम मर्जर तथा एक्विजिसनमा जान थालेका छन् । केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गरेसँगै लघुवित्त कम्पनीहरुबीच एकआपसमा गाभिन थालेका छन् ।

एक वर्षअघि ९० लघुवित्त कम्पनी सञ्चालनमा रहेकोमा अहिले केही कम्पनीहरु एक अर्कामा गाभिएर ८४ मा झरेका छन् । राष्ट्र बैंकका अनुसार अहिलेसम्म १७ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् । केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् ।

केन्द्रीय बैंकको नियम अनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी ६० करोड, राष्ट्रियस्तरका लघुवित्तको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पुँजी न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । यसले गर्दा पनि लघुवित्त कम्पनीहरु मर्जरमा जान बाध्य भएका हुन् ।

प्रतिक्रिया