ओडारबाट सुरक्षित स्थानमा सरे नुवाकोटका पहिरोपीडित

विदुर खबर २०७७ भदौ २९ गते ८:३६

नुवाकोट । पहिरोको उच्च जोखिममा परेर ६ दिनदेखि ओडारमा बस्दै आएका दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदी सिसिपुका स्थानीय सुरक्षित स्थानमा सरेका छन् ।

Advertisement

मंगलबार बिहान गाउँमाथिको बस्तीमाथि छोम्बरडाँडाबाट झरेको पहिरोले २ घरसहित पशुचौपाय बगाएपछि १ सय १३ धुरीका नागरिक ओडारमा बस्दै आएका थिए ।जिल्ला विपद् व्यवस्थापन समितिले बासका लागि टेन्टको व्यवस्था गरिदिएपछि उनीहरु सरेका हुन् । पीडितको अवस्था बुझ्न संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङलगायत उक्त क्षेत्रमा पुगेका थिए ।

पहिरो पीडितलाई सुरक्षित स्थानमा राखिएको गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङले बताए । ‘अहिले पहिरो रोकिएको छ,,’ उनले भने, ‘तर स्थानीयवासीलाई सुरक्षित ठाउँमा राखेका छौं ।’ उनका अनुसार पहिरो पीडितलाई घ्याङडाँडा, बोल्जु र घ्युल्डुङमा सारिएको हो । जुन ठाउँ पहिरोग्रस्त क्षेत्रबाट २ किलोमिटर टाढा पर्छ ।पहिरोपीडित २ सय धुरीलाई लक्षित गरेर सोमबार खाद्यान्न वितरण गरिने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।अबिरल वर्षासँगै गत मंगलबार आएको पहिरोले २ घर पुरेर क्षति पुऱ्याएको थियो भने बस्ती उच्च जोखिममा छ । केही ठाउँमा लगाएका बालीमा क्षति पुर्‍याएको छ ।

Advertisement

त्यसैगरी सिसिपुबाहेक उक्त वडाका निगाले, बोल्जु, काउले, सेजुङ र नेगी जोखिमयुक्त बस्तीमा पर्छ । गत हप्ता नेगीगाउँभन्दा १ सय ५० सय मिटर माथि पल्सङ ढुंगा झर्न लागेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । बस्तीमाथि बसेको ठूलो आकारको ढुंगा २/३ मिटर सरेपछि तल नेगीगाउँकाका स्थानीय उच्च जोखिममा परेका थिए । त्यहाँका २९ धुरीलाई हाइड्रो पावर नजिकको सल्लेरीडाँडामा, दुम्जे, शिखरबेंसीको मिश्रभन्ज्याङ, घ्याङफेदीमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पल्सङ ढुंगालाई कसरी सुरक्षित ढंगले फुटाउनबारे नेपाली सेनाको जबरजंग गणलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताए । जिल्लामा ८ हजार १ सय ९० धुरी जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Advertisement

प्रतिक्रिया