रसुवागढी नाका सञ्चालनमा ल्याउने बारे छलफल

विदुर खबर २०७७ भदौ २७ गते ९:१३

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीको अवस्था बारे बुझ्न चीनको स्वशासित क्षेत्र तिब्बतको पोर्ट म्यानेजमेन्ट अथोरिटिजका टोली बुधबार रसुवागढी आएका छन् ।

Advertisement

रसुवागढी नाकामा कार्यरत एक जना नेपाली कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि गएको बिहीबारदेखि चिनियाँ पक्षले आयात रोकेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार नाकाको अवस्था, कोरोना भाइरसको संक्रमणको अवस्था र नाकाको स्वास्थ्य सुरक्षाबारे जानकारी लिएको छ ।

चिनियाँ टोलीले नाका केही दिनमा खुल्न सक्ने संकेत गरेको छ । तर कहिलेबाट खुल्छ भन्ने निर्णय गरिसकेको छैन । नेपाली पक्षले नाकापारी रहेको चिनियाँ यार्डमा सामग्री झार्ने व्यवस्था मिलाउन र नेपाली सामग्रीको निर्यात खुला गर्न आग्रह गरेको छ । रसुवागढी नाकाबाट एक महिनाअघिदेखि आयात सुरु भएको भएपनि न्यून आयात हुँदै आएको थियो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

Advertisement

प्रतिक्रिया