आज कुशे औँशी, बाबुको मुख हेर्ने दिन
विदुर खबर
२०७७ भदौ ३ गते १०:५१

नुवाकोट । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज मनाईँदै छ । देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आज घर–घरमा राखिन्छ ।
ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।
यस्तै आजको दिनलाई पिताको मुख हेर्ने दिनको रुपमा मनाईन्छ । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
कोभिड १९ को बन्दाबन्दीले भने आफ्नो बाबु भेट्न आउजाउ गर्नेहरुलाई समस्या भएको छ ।
गोरखा सदरमुकाममा बिगत वर्षमा जस्तो आजको दिन मानिसको चहलपहल देखिँदैन ।
कतिपयले भने सामाजिक सञ्जालमा पिताको फोटो राखेर सम्मान गरेका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया