बहुमत जिल्ला सभापति भन्छन्–‘केन्द्रका सबै निर्वाचित भएर आउनुपर्छ’
विदुर । कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक कोटा दोहोर्याउन नपाउने मुद्दालाई महाधिवेशनसम्मै उठाउने भएका छन् ।
पार्टीका संस्थापन इतरमा रहेका ४९ जिल्लाका सभापतिले बुधबार र बिहीबार भर्चुअल बैठक गरेर यो मुद्दालाई प्रमुखताका साथ उठाउने निर्णय गरेका हुन् । बैठकपछि राजधानीमा उपलब्ध सभापतिहरूले यस विषयमा छुट्टै बैठकसमेत राखेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले अन्य राजनीतिक दलबाट आउनेहरूलाई आफूखुसी पद बाँडेको आरोप संस्थापन इतरपक्षीय नेताहरूले लगाइरहेकै बेला त्यही समूहमा रहेका जिल्ला सभापतिहरूले यो मुद्दालाई अझै चर्काउने तयारी गरेका हुन् ।
पार्टी विधानमा केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था छ । यो व्यवस्थाले आफूलाई लाभ पुग्ने देखेरै सभापति देउवाले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्नेहरूलाई परामर्शबिनै पद बाँड्ने गरेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले लगाउँदै आएका छन् । पछिल्लो पटक तत्कालीन राप्रपाका नेता सुनीलबहादुर थापालाई सहमहामन्त्री बनाउने र उनीसँगै आउने ५ जनालाई केन्द्रीय सदस्य, दुई जनालाई आमन्त्रित सदस्य दिने समझदारी गर्दा आफूहरूसँग परामर्श नभएको दाबी पौडेल र सिटौला पक्षको छ ।
वडा तहबाटै निर्वाचित भएर आउने व्यवस्था बने कतिपय केन्द्रीय सदस्यहरू तलकै निर्वाचनमा हार्न सक्ने बुझेरै जिल्ला सभापतिहरूले यो मागलाई सशक्त बनाउन खोजेका छन् । एउटै पार्टीमा दुई थरी मापदण्ड लागू हुन नसक्ने सैद्धान्तिक मान्यतासमेत उनीहरूले अघि बढाएका छन् । केन्द्रीय पदाधिकारी र सदस्यहरू चुनाव लड्नु नपर्ने तर अरू नेता तथा कार्यकर्ता चुनावबाटै आउनुपर्ने व्यवस्था लोकतान्त्रिक पार्टीका लागि नसुहाउने नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।
०७५ पुस २९ देखि माघ ९ सम्म राजधानीमा भएको महासमिति बैठकमा पनि जिल्ला सभापतिहरूले यी दुई मुद्दालाई विधानमा समावेश गर्न प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी महासमिति सदस्यहरूको समर्थन थियो । निर्णय प्रक्रियामा अघि बढ्दा बैठक लम्बिने भएकाले पार्टी सभापति र वरिष्ठ नेता पौडेलले विधान जारी गर्ने बखत केन्द्रीय कार्यसमितिको बैठकबाटै सम्बोधन हुने वचनबद्धता दिएपछि प्रस्ताव ‘स्थगन’ गरिएको थियो ।
महासमिति बैठकको अंग बनिसकेको यो विषय पछि केन्द्रीय कार्यसमितिमा आइपुगेपछि भने अघि बढ्न सकेन । बैठकको बहुमतले केन्द्रीय सदस्यहरू स्वतः निर्वाचन हुने पुरानै व्यवस्थालाई निरन्तरता दियो । त्यसपछि असन्तुष्ट रहेका जिल्ला सभापतिहरूले स्वतः निर्वाचित हुने व्यवस्थाको खारेजी र समानुपातिक कोटा दोहोर्याउन नपाउने व्यवस्था विधानमै समावेश गर्नुपर्ने विषयलाई बेलाबखत उठाउँदै आएका थिए । पार्टी सभापति देउवाको पछिल्ला कदमले संस्थापन इतरपक्षले यो विषयलाई फेरि अघि बढाएको हो ।
पार्टी, सरकार र संसद्मा समेत समानुपातिकबाट एउटै व्यक्तिले पटक–पटक सुविधा लिन थालेपछि जिल्ला सभापतिहरूले दोहोर्याउन नपाउने व्यवस्था विधानमै राख्नुपर्ने माग गरेका हुन् । तर, यस विषयमा केन्द्रीय कार्यसमिति र सांसदमा समानुपातिक कोटा दोहोर्याएका नेताहरूबाटै चर्को विरोध भएको थियो । विधानमा यस विषयमा केही उल्लेख छैन । ‘पार्टीभित्र नेतृत्वमा पुग्नका लागि पैसा, पाखुराको प्रभावबाट होइन निष्ठा, त्याग र क्षमताका आधारमा प्रतिनिधित्व हुने प्रणाली सुनिश्चिताका लागि सबै साथीहरूलाई आग्रह गर्छौं,’ जिल्ला सभापतिहरूले निर्णयमा उल्लेख गरेका छन् ।
पार्टी सभापति देउवा विधानको व्यवस्था र पद्धतिअनुसार अघि बढ्न नसकेको निष्कर्षसमेत उनीहरूको छ । पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभागहरू नियमित कार्यकाल सकिइसकेपछि गठन भएकाले त्यसलाई आफूहरूले अमान्य घोषणा गरेको जिल्ला सभापतिहरूको भनाइ छ ।
कान्तिपुरबाट सभार ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु





प्रतिक्रिया