भक्तपुरमा आएको बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

विदुर खबर २०७५ असार ३२ गते १:५६

भक्तपुर, भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।

Advertisement

डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ ।
उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिनुभयो ।

प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताउनुभयो । तथ्यांकानुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करीव रु तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव रु छ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा रु दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा रु २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करीव रु ५० लाख बराबरको क्षति भएको छ ।
प्रजिअ भट्टका अनुसार बागेश्वरीमा तीन जनाको मृत्यु भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाइएको छ । उद्धार शनिबारसम्म जारी रहेको बताउँदै उहाँले भन्नुभयो,“हिजो बिहानदेखि दिनभरी सांसद महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुख, जनप्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करीव ७० जनाको टोलीले सरसफाइ गरी डुबानमा परेका व्यापारीको गोदामका सामान निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।”

Advertisement

भत्किएका ठाउँमा ग्याबिन पर्खाल लगाउने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने र सडक पुनःसञ्चालन गर्ने लगायत कामका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएअनुरुप काम भईरहेको उहाँको भनाइ छ । असार २९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चारै नगरपालिकाले २४ घण्टाभित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि आजसम्म कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छ्रैनन् । जनप्रतिनिधि जनताकै काममा उदास भएको र चासो नदिएको गुनासो बढेको छ ।

प्रतिक्रिया