फेरि गरिएला लकडाउन ?

विदुर खबर २०७७ साउन १९ गते ११:५४
विदुरमा रहेको नेपाल बैंकमा सेवाग्राहीहरुको केहीदन अघि लागेको भिड ।

विदुर । विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा विभिन्न रूपमा पुनः लकडाउन गर्न थालिएको छ ।

Advertisement

यससँगै १ सय २० दिन लकडाउन भोगेका देशवासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ । साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि संक्रमण बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ । लकडाउन खुलेसँगै देशैभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

                            विदुरमा रहेको नेपाल बैंकमा सेवाग्राहीहरुको केहीदन अघि लागेको भिड ।

सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिवालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको छ । ‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ,’ सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले भने ।

Advertisement

काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि साउन १५ मै गृह मन्त्रालयले बेलुकी ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश गर्ने नाकाबाट आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै उपत्यकाबाहेक जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण रूपमा बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरिसकेको छ ।

सीसीएमसीका एक उच्च अधिकारीका अनुसार आवश्यक पर्दा भविष्यमा पनि छोटो समयका लागि लकडाउन गर्न सकिनेबारे छलफल चलिरहेको छ । ‘अहिलेचाहिँ सेक्टर–सेक्टरमा लकडाउन भइरहेको छ,’ ती पदाधिकारीले भने, ‘काठमाडौं उपत्यकाको हकमा पनि दुई सातासम्म बन्द गरेर सामान्य अवस्थामा ल्याउनुपर्ने हुन्छ ।’

Advertisement

ती अधिकारीका अनुसार संक्रमण हुनेको दर नियन्त्रणमै रह्यो भने बढी मानिस जम्मा भएर सेवा लिने कार्यालयहरूलाई केही समय बन्द गर्ने विषयमा छलफल भइरहेको छ । त्यसमा सवारी लाइसेन्स बनाउने यातायात व्यवस्था कार्यालय, महसुल तिर्न लाइन लाग्नुपर्ने पानी, विद्युत् जस्ता कार्यालयहरू पर्छन् । ‘कपडाको पसल, रेस्टुरेन्टहरू बन्द गर्नुपर्ला, अब खोल्ने र बन्द गर्नेमा हामी अभ्यस्त हुनुपर्छ,’ ती पदाधिकारीले भने ।

कान्तिपुरबाट साभार ।

प्रतिक्रिया