५० दलाल कम्पनीले पुर्वाधार बनाए, साउन १ देखि अनलाइन कारोबार’

विदुर खबर २०७५ असार ३१ गते १५:२१

अनलाइन कारोबार प्रणाली सुचारु गर्न नेपाल स्टक एक्स्चेञ्जले सेयर दलाल कम्पनीहरुलाई दिएको निर्देशन अनुसार तयारी भएको नेप्सेले जनाएको छ । सेयर दलाल कम्पनीहरुले नेप्सेको निर्देशन अनुसारको मापदण्ड भित्र रहेर अनलाइन कारोबारका लागि क्लाउडमा आधारित हार्डवेयर जडान गरेको नेप्सेले जनाएको छ ।

Advertisement

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले २ वटा क्लाउड बेस आईटी कम्पनीबाट ५० सेयर दलालले हार्डवेयर तयार गरेको जानकारी दिए । ‘हामीले भने अनुरुपको हार्डवेयर दलाल व्यवसायीले तयार गरे पछि त्यसमा सफ्ट्वेयर इन्टिग्रेसनको काम तिब्र गतिमा भैरहेको छ ।’ पराजुलीले भने । नेप्सेले सेयर दलाल कम्पनीहरुलाई अनलाईन कारोबारका लागि आफ्नै सर्भर, डाटा रिकभरका लागि आफ्नै पूर्वाधारको तयारी गर्न निर्देशन दिएको थियो ।

अहिले नेप्सेकै सर्भरमार्फत कारोबार हुँदै आएकोमा अब आफ्नै डाटा सेन्टर राख्नुपर्ने व्यवस्था नेप्सेले गरेको थियो । ब्रोकर कम्पनीले सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्प्युटर इन्जिनियर र सहायक स्तरका दुई जना कर्मचारी नियुक्त गर्नुपर्ने व्यवस्था नेप्सेले गरेको थियो । उल्लेखित विषयका सम्बन्धमा कुरा गर्दै नेप्से प्रवक्ता पराजुलीले भने – ‘हामीलाई सबै तयारी भएको खबर सेयर दलाल व्यवसायीहरुबाट आएको छ । साउन १ गते देखि सबै दलाल व्यवसायीकोबाट समानान्तर रेटिङमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा सेयर कारोबार हुन्छ ।’

Advertisement

उनका अनुसार युएटी परीक्षणलाई पनि सँगै लगिनेछ । बजारका लागि अनलाइन प्रणाली सक्षम भएको अवस्था पछि मात्र अहिलेको प्रणालीलाई बिस्थापित गरिने नेप्सेले जनाएको छ । कारोबारको म्याचिंग भने अहिलेको प्रणालीबाट हुने नेप्सेले जनाएको छ । सेयर दलाल व्यवसायीहरुले २ निजी कम्पनीहरुबाट नेप्सेले तोके अनुसारको क्लाउडमा आधारित प्रणाली सञ्चालनको तयारी गरेका हुन् । अब साउन १ देखि लगानीकर्ताहरुले सेयर दलालकोमा गई अनलाइन कारोबारका लागि तोकिएको प्रकृया पुरा गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया