प्युठानका विद्यार्थीमा मास हिस्टेरिया भएपछि एक महिनाका लागि विद्यालय बन्द

विदुर खबर २०७५ असार ३० गते १०:५०

प्यूठान– विद्यार्थीहरु एक्कासी काम्ने, चिच्याउने र बेहोस हुने गर्न थालेपछि एक हप्ता देखि बन्द हुँदै आएको प्यूठानको अमृत जीवन मा.वि नारीकोट थप एक महिनाका लागि बन्द हुने भएको छ।
मास हिस्टोरीयाका कारण विद्यालयमा समस्या भएपछि डाक्टरको सुझाव अनुसार वर्षे विदाबाट कटौती गर्ने गरी विद्यालय बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी दिए। बिद्यार्थीमा देखिएको समस्या समाधान नभएपछि थप एक महिनाका लागि बन्द गरिएको उनले बताए।

Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानको पहल तथा स्वास्थ्य सेवा बिभाग, मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय नेपालगञ्जको सहयोगमा नेपालगञ्ज मेडिकल कलेजबाट आएको विशेषज्ञ डाक्टरहरुको टोलीले समेत बिद्यालय बन्द गर्न सुझाव दिएसँगै बिद्यालय बन्द गरिएको हो।

नेपालगञ्ज मेडिकल कलेजबाट आएको नशा तथा मानसिक रोग बिशेषज्ञ डा. ऋतु पौडेलको नेतृत्वको डाक्टरहरुको टोलीले बिहिबार घटनास्थल पुगी अनुगमन गरेको छ। हामीहरु बिरामीकहाँ पुग्यौं डा.पौडेलले भने –‘बिरामीको लक्षणहरुलाई हेर्दा मास हिस्टोरिया नै हो। यसको उपचार भनेकै काउन्सील गरेर गर्ने हो।’

Advertisement

आफूहरुले बिरामी परेका बिद्यार्थीलाई अभिभावक,शिक्षक अन्य बिद्यार्थीको सँगै राखेर काउन्सिल गर्दा केहि सुधार भएको, एक्ला एक्लै राखेर काउन्सील गर्दा बिरामी सामान्य अवस्थामा आएको र पछि भिडमा जाँदा उस्तै समस्या देखिएपछि उनीहरुलाई एक्लै राख्न सुझाव दिएको डा. पौडेलले बताए।

मास हिस्टोरियाको बिषयमा अभिभावकहरुमा गलत बुझाईले गर्दा पनि यो नियन्त्रण बाहिर गएको डाक्टरहरुको बुझाई छ। ‘कतिपय अभिभावकले औषधी माग्दै हुनुहुन्थ्यो, नजिकैको मन्दिरको देवी लाएको पनि भन्दै हुनुहुन्थ्यो,’ डाक्टर पौडेलले भने,’ पहिले यो गलत सोच नै बदल्नुपर्छ।’

Advertisement

डाक्टरहरुको टोलीले  काउन्सिलिङ गर्दा केहीले बुझेको तर केही  अभिभावकहरुले विश्वास नगरेकाले अझै काउन्सिलिङको  आवश्यकता रहेको  टोलीमा संलग्न डा. राजेश गिरीले बताए। उनले यो समस्या देखिएका बिरामीलाई धेरै वास्ता नगर्ने, धेरै माया ममता नदिने, एकान्तमा राख्ने, उनीहरुले आफुले गर्न सक्ने काम आफैं गर्न दिने र सकेसम्म समूहमा भन्दा यो समस्या भएको बिरामीलाई छुट्टै राख्नुपर्ने बताए। टोलीमा डा. पौडेल सहित डा. राजेश गिरी, डा.दिपेन्द्र थापा र जिल्ला जनस्वास्थ्य कार्यालयका पुष्कल श्रेष्ठ र कौशलराज वैद्य सहभागी थिए।

जिल्ला अस्पताल प्युठानको स्तरउन्नती गरि पचास शैय्याको अस्पताल बनेपछि एक जना मनोरोग विशेषज्ञको दरबन्दी भएतापनि अहिलेसम्म पदपूर्ति हुन नसकेको जनस्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिए।विद्यालयमा एकै दिन ४८ जना बिद्यार्थी बेहोस भएका थिए।

प्रतिक्रिया