डा केसी अनसनको १५औं दिन : बिग्रँदो स्वास्थ्यलाई ध्यान दिँदै अनसन स्थलमा भेन्टिलेटर

विदुर खबर २०७५ असार ३० गते १०:४६

डा गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अनसन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि आवश्यक सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको छ।

Advertisement

आज बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएकाले उपचाररत चिकित्सकहरुको सल्लाह अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनसन स्थलमा भेन्टिलेटर र डिफिब्रिलेटर राखेको हो। यसका साथै आकस्मिक अवस्थामा चाहिने सबै औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ।

Advertisement

यसैबीच, प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले विज्ञप्ति जारी गर्दै डा केसीले जुम्लामै अनसन जारी राख्न चाहेको अवस्थामा आफूहरु उनको उपचार गर्न सक्षम रहेको जानकारी गराएका छन्।

१५औं दिनमा डा केसीको स्वास्थ्य

Advertisement

सत्याग्रहको १५औं दिनमा डा केसीको स्वास्थ्यमा दुई मुख्य समस्या देखिएका छन्। रगतमा सेतो रक्त कोशिकाको मात्रा घट्नुका साथै घाँटीको संक्रमण देखिएको छ। घाँटी दुख्ने, खसखसाउने, खोकी लाग्ने र आवाजमा सामान्य परिवर्तन पनि भएको छ। तर, आफू अनसनमा रहेकाले कुनै पनि एन्टिबायोटिक्स प्रयोग नगर्ने डा केसीको अडान छ।

त्यस्तै, स्लाइन पानी दिन खोलिएको नसामा पनि संक्रमण देखिएको छ, जसका कारण हात सुन्निएका छन्।

सरकारले अहिलेसम्म वार्ता टोली नबनाएको भनी आक्रोशित भएका डा केसीले भद्र अवज्ञा स्वरुप आज पनि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन्। जसका कारण उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिन सकिएको छैन।

डा केसीले असार १६ गतेदेखि आमरण अनसन सुरु गरेका हुन्।

प्रतिक्रिया