मेगा बन्यो चुक्ता पूँजीको आधारमा दोस्रो ठूलो बाणिज्य बैंक, एक अर्बको बोनस पारित

विदुर खबर २०७५ असार ३० गते १०:३५

शुक्रबार सम्पन्न सातौं बार्षिक साधारण सभाले चुक्ता पूँजीको १०.७५ प्रतिशत बोनस सेयर पारित गरेसँगै मेगा बैंक (MEGA)  चुक्ता पूँजीको आधारमा दोस्रो ठूलो बाणिज्य बैंक बनेको छ ।

Advertisement

बैंकको असार २९ गते शुक्रबार सम्पन्न सभाले ९९ करोड ८६ लाख ९५ हजार रुपैयाँको बोनस वितरण गरेपश्चात मेगा बैंकको चुक्ता पूँजी १० अर्ब २८ करोड ६८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा बढी चुक्ता पूँजी रहेको इन्भेष्टमेन्ट बैंकको १० अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

सभाबाट पारित भएकाे १०.७५ प्रतिशत बोनस असार १४ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । गत बैशाख ३० गतेपश्चात सेयर किनेर बोनस पाउन योग्यले सेयरधनीले भने बोनसमा लाग्ने कर आफैँले तिर्नुपर्नेछ । एकीकृत कारोबार अगाडि कायम रहेका सेयरधनीले भने बोनसमा लाग्ने कर छुट हुनेछ ।

Advertisement

मेगाको गत पुस २५ गते सम्पन्न सञ्चालक समिति बैठकले ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँको ९.४५ प्रतिशत र टुरिजमको गत चैत १२ गते सम्पन्न सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । तर जेठ २९ गते सम्पन्न २२१ औं सञ्चालक समिति बैंकले एकीकृत कारोबार भैसकेको अवस्थामा दुबै बैंकले यसअघि प्रस्ताव गरेको बोनसलाई संसोधन गरेर समान बोनसदर (१०.७५ प्रतिशत) वितरण गर्ने निर्णय गरेको थियो ।

टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जपछिको भने मेगाकाे यो पहिलो साधारण सभा हो । गत बैशाख ३० गतेदेखि टुरिजमलाई गाभेर मेगाले एकीकृत कारोबार थालेको थियो । सभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ती गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव  र बैंककाे अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Advertisement

प्रतिक्रिया