नुवाकोट –काठमाडौं ३४ किमी लामो सुरुङमार्ग चीनले बनाइदिने,सबै तयारी अबस्थामा रहेको जानकारी

विदुर खबर २०७५ असार ३० गते १०:१२

नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकभर निर्माण गरिने विभिन्न ७ वटा सुरुङमार्ग मध्ये सबैभन्दा तयारी अबस्थामा रहेको योजनाको रूपमा टोखा–छहरे सुरुङमार्ग भएको सडक विभागले जानकारी दिएको छ ।

Advertisement

विभागका वैदेशिक सहयोग समन्वय महाशाखाका अनुसार चीन सरकारले बनाउन चाहेको यो सुरुङमार्ग नागढुङ सुरुङमार्ग पछिको दोस्रो हुने अनुमान गरिएको छ । निर्माण तयारी र दातृ निकायको चासो तथा सम्भाव्यता सकिएर तयारी अवस्थामा बसेको योजनाको रूपमा यो सुरुङमार्ग रहेको पनि विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठको भनाइ छ ।

चिनियाँ सहयोगमै काठमाडौंदेखि नुवाकोट छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने विषयलाई पनि सडक विभागले प्राथमकिताका साथ अगाडि सारेका र चिनियाँ पक्षले आवश्यक चासो देखाएर अगाडि बढेको जानकारी पनि विभागले दिएको छ ।

Advertisement

काठमाडौं टोखाबाट नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग बनाउन इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन तथा फाईनान्स (इपीसीएफ) मोडलमा चिनियाँ कम्पनीकै प्रस्ताव आइसकेको छ । सरकारलाई इपीसीएफ मोडलमा यो सुरुङमार्ग निर्माण गराउन सडक विभागले सिफारिशसमेत गरिसकेको छ । वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग इपीसीएफ मोडलमा बनाउन उपयुक्त भएको ठहर पनि गरिसकेको छ ।

चिनियाँ कम्पनी (सीएमईसी)ले काठमाडौैंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्गदेखि सडक पनि निर्माण गर्ने गरी प्रस्ताव गरेको उल्लेख छ । यो प्रस्तावमा चार किलोमिटर सुरुङसहितको ३४ किलोमिटर सडक निर्माण गरिदिने उल्लेख छ । चिनियाँ कम्पनीले आवश्यक लागतको ऋण बार्षिक दुई प्रतिशत व्याजदरमै उपलब्ध गराउने गरी प्रस्ताव आएको विभागको भनाइ छ ।

Advertisement

पछिल्लो समय चिनियाँ सहयोगमै रेल र सुरुङ एकैपटक निर्माण हुन्छ कि हुँदैन भन्ने वहस चलिरहेको समयमा सडक विभागले सुरुङको आवश्यकता देखाएको हो । चिनियाँ सहयोगमा नेपालको लागि रेल कि सुरुङ भन्ने बहस चल्न थालेको भएपनि श्रेष्ठले दुबै नेपालको आवश्यकता भएको भन्दै अगाडि बढाउनुपर्ने तर्क दिएका पनि छन् । उनले भने अहिले चिनले बनाइदिने योजनाको रूपमा हामीले प्रस्ताव अगाडि बढाइरहेका छौं । रेल मात्रै भएर हुँदैन सडक र त्यसलाई प्रयोग छिटो र समय बचत गर्नुपर्ने सुरुङ पनि हाम्रो आवश्यकता भएको बुभाइ उनको छ ।

काठमाडौंबाट छहरे निस्कने सुरुङमार्गको प्रयोग गरेर रसुवागढी साढे दुई घण्टामा पुग्ने गरी सडक विस्तारको काम पनि भइरहेको छ । स्थानीय यातायात र छोटो रुटको निम्ति सवारी सञ्चालन गर्न सुरुङ आवश्यकता देखिएको हो ।

गल्छी–त्रिशुली–बेत्रावती–स्याफ्रुबेसी हँुदै रसुवागढी जोड्ने सडक १२२ किलोमिटर हाल सञ्चालमा छ । रिभर बेल्ट प्रयोग गरेर निर्माण भएको यो सडकमा सुरुङ मार्गले ३४ किमी दुरी छोटो बनाउँन सहयोग पुग्ने उल्लेख छ ।

यो सुुरुङमार्ग बनाउँन यस अघि नै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनबाट यो क्षेत्रमा सुरुङमार्ग निर्माण सम्भव रहेको पनि उल्लेख छ । यो सुरुङमार्ग निर्माण गर्न भौतिक मन्त्रालयले टोखा–गुर्जेभञ्ज्याङ सडक खण्डहमा सुरुङमार्गको आर्थिक एवं प्राविधिक संभाव्यता अध्ययन गर्न पाँच वर्षे रणनीतिमा उल्लेख गरेको छ ।

रणनीतिमा चालू आर्थिक वर्ष २०७५/७६ बाट विस्तृत सम्भाव्यता अध्ययन सकेर काम सुरु गर्ने उल्लेख छ । प्रारम्भिक सम्भाव्यामा काठमाडौं टोखा सुरुङमार्ग निर्माणमा २७ अर्ब लाग्ने उल्लेख छ । गल्छीबाट रसुवागढी जोड्ने स्तरीय सडकसँगको पहुचका कारण यो सुरुङमार्ग प्रयोग गरेर काठमाडौं चीनबोर्डर साढे दुई घण्टाको यात्रामै तय गर्न सकिने उल्लेख छ । आगामी पाँच वर्ष भित्रै सुरुङमार्गसहितको उक्त सडक निर्माण गर्ने सरकारी योजनासमेत रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया