एसईई कुनैपनि हालतमा हुन्छ : राष्ट्रिय परीक्षा बोर्ड

विदुर खबर २०७७ वैशाख २९ गते १०:५१

नुवाकोट ।  माध्यमिक तहका परीक्षा नहुने भन्ने भ्रममा नपर्न विद्यार्थीलाई प्रस्ट गरिएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले परीक्षा सञ्चालन गरी प्रमाणपत्र जारी गर्ने व्यवस्थाकानुनमा नै भएकाले परीक्षा कुनै पनि हालतमा हुने बताएका छन् । शिक्षा पक्रकार सञ्जाल (इजोन) ले आइतबार अनलाइन माध्यमबाट आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बोर्ड कानुनको पालना गर्ने निकाय भएकाले यो निर्णयबाट बाहिर जान नमिल्ने बताउनुभयो । उहाँले कानुन परिवर्तन नगरी परीक्षा स्थगित गर्न असम्भव रहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको सरकारले घोषणा गरेपछि मात्र परीक्षा हुन सक्ने र भाइरस नियन्त्रण हुन नसकेमा एक÷दुई शैक्षिक सत्रसमेत गुम्न सक्ने बताउँदै भन्नुभयो– ‘नियन्त्रण भएको घोषणा गरिएको कम्तीमा दुई साता समय दिई परीक्षा सञ्चालन हुनेछ ।’प्रवेशिका परीक्षा (एसईई) लाई सहज बनाउन अनिवार्य विषयको बोर्डले र बाँकी ऐच्छिक विषयको विद्यालयले नै लिन पाउने प्रस्ताव शिक्षा मन्त्रालयमा बुझाइएको छ ।

Advertisement

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफूहरु पर्ख र हेरको स्थितिमा रहेको बताउनभयो । उहाँले मन्त्रालयले विभिन्न विकल्पनका बारेमा छलफल गरिरहेको र अझै टुंगोमा नपुगिसकेको उल्लेख गर्दै कोरोना भाइरस नियन्त्रणपछि मात्र परीक्षाका बारेमा सोच्न सकिने बताउनुभयो ।

एसईई कार्यालयका परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईईका परीक्षार्थीलाई सजिलो बनाइदिन उपकेन्द्र कायम गर्ने बारेमा सोचिएको र त्यसका शिक्षा विकास तथा समन्वय एकाइसँग प्रस्ताव मागिएको जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया