नेकपाको आन्तरिक विवाद उत्कर्षमा, सांसदको जोडघटाउ सुरु


नुवाकोट । दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको सत्तारुढ नेकपाको आन्तरिक विवाद अव संसदीय दलमा बहुमत पुर्याउने खेलमा प्रवेश गरेको छ ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलमा बहुमत पुर्याउन सकिन विश्वाससहित सांसदहरुसँग सामूहिक र व्यक्तिगत संवाद थालेपछि विवाद संसदीय दलमा बहुमत पुर्याउने खेलमा प्रवेश गरेको हो । पार्टी निर्णयविपरित सरकार चलाएको, सरकारकै कारण पार्टी बदनाम भएको निष्कर्षसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीले राजीनामा नगरे संसदीय दलमै आफ्नो बहुमत देखाउने योजनामा छन् ।
दाहाल–नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत जुटाउने निर्णायक कोशिष थालेका हुन् । ओली समूहले सांसदहरुको हस्ताक्षरसमेत संकलन सुरु गरेको छ । बुधबार साँझ बस्ने सचिवालय बैठक अगाडि बहुमत सांसद जुटाउने ओली समूहको योजना अनुसार सांसदहरुको हस्ताक्षर संकलन थालिएको बताइन्छ । पार्टी कमिटीमा बहुमतमा रहेको दाहाल र नेपाल समूह संसदीय दलमा रहेका आफ्ना सांसदहरु सुरक्षित गर्न सकेमात्रै पनि प्रधानमन्त्रीमाथि दबाब बनाउन सकिने विश्वासमा छ ।
आ–आफ्नो रणनीतिमा अगाडि बढेका ओली र दाहाल नेपाल दुवैपक्ष यतिबेला आफ्नो समूहमा रहेका सांसद सुरक्षित गर्ने र अर्को समूहका सांसदलाई ‘कन्भिन्स’ गरेर आफूतिर ल्याउने योजनामा छन् । त्यसैले दुवैपक्ष अहिले व्यक्तिगत र सामूहिक भेटमा लागेका छन् । संसदीय दलमा बहुमत देखाउन सके प्रधानमन्त्री पद सुरक्षित गर्न सकिने योजनासहित प्रधानमन्त्री ओली समूह यसको तयारीमा जुटेको छ । पार्टी कमिटीमा अल्पमतमा परेपछि संसदीय दलमा बहुमत पुर्याउने ओलीको रणनीति, दलमा पनि बहुमत बनाईराख्ने दाहाल नेपालको योजना छ । बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
नेकपाका १ सय ७४ सांसद छन् । पूर्वएमाले समूहको १ सय २१ र पूर्वमाओवादी समूहका ५३ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । पूर्वएमाले समूहमा पनि प्रधाननमन्त्री ओलीको पक्षमा मात्रै ७८ सांसद रहेको यो समूहको दावी छ । वरिष्ठ नेता नेपाल समूह (झलनाथ खनाल र वामदेव गौतमसहित) ४३ सांसद भएको दावी छ । यसरी नेपाल–दाहाल समूहमा ९६ सांसद रहेको दावी गरिएको छ । ओली समूहबाट करिब एक दर्जन सांसद जोडिँदा एक सय नाघ्ने हिसाब दाहाल–नेपाल समूहको छ ।
उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ । प्रधानमन्त्री ओली भने पार्टीमा अल्पमतमा परे पनि संसदीय दलमा बहुमतमा रहेको देखाउँदै दुवै पद नछाड्ने अडान दोहोर्याउने मनसायमा छन् । आफ्नो पक्षमा रहेका सांसदहरुलाई काठमाडौं फर्किन मंगलबार नै दुवै पक्षका नेताहरुले आग्रह गरेका थिए । सोही अनुसार जिल्लामा रहेका सांसदहरु बुधबार काठमाडौं आईसकेका छन् ।
प्रधानमन्त्री आलीले संसदीय दलमा बहुमत पुर्याउने रणनीतिसहित सोमबारदेखि सांसदहरुसँग व्यक्तिगत र सामूहिक भेट गरेका छन् । सोमबार ओलीले आफूनिकट करिब ३० सांसदसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूमाथि पार्टीकै शीर्ष नेताहरूले घेराबन्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन निर्देशन दिएका थिए । देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको र यसमा सचेत हुनुपर्ने ओलीको भनाई थियो ।
मंगलबार साँझ पनि प्रधानमन्त्री ओलीले सांसदहरुसँग सामूहिक छलफल गरेका थिए । सोमबारको छलफलमा सहभागी भएका सांसदहरु मंगलबारको छलफलमा सहभागी थिए । पार्टीका दुई दर्जन सांसदहरूसँग मंगलबारको भेटमा उनले पार्टी एकता बिथोल्ने प्रयास भएको भन्दै पार्टीलाई एकताबद्ध गर्न सांसदहरुको पनि भूमिका हुने भएकाले साथ दिन ओलीले आग्रह गरेको सांसद सूर्य पाठकले बताए ।
प्रधानमन्त्री ओलीले बुधवार बिहान पनि केही सांसदलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । छलफलमा हस्ताक्षर संकलनलगायतका विषयमा कुराकानी भएको सांसद महेश बस्नेतले बताए । उनका अनुसार सकेसम्म लचक बन्ने र त्यसो गर्दा पनि दाहाल–नेपाल समूहले नमाने कठोर निर्णय लिन प्रधानमन्त्री ओलीलाई आफूहरुले सुझाव दिएको बस्नेतको भनाई छ ।
यद्यपि बहुमत अझै नपुगेको हुँदा अर्को समूहका असन्तुष्ट सांसदहरुलाई फकाउने प्रयास पनि भईरहेको छ । खासगरी पूर्व माओवादी समूहका केही सांसदलाई ओली निकट नेताहरुले बुधबार बिहान पनि फोन गरेर बालुवाटार आउन आग्रह गरेको एक सांसदले बताए । प्रधानमन्त्रीले सक्दो सहयोग गर्ने प्रस्तावसहित आफूलाई सहयोग गर्न आग्रह गरेको गरेको भए पनि आफू नगएको उनले बताए । अर्कोतर्फ दाहाल र नेपालनिकट नेताहरु पनि आफ्नो समूहका सांसदहरुसँग लगातार सम्पर्कमा छन् । केही असन्तुष्ट सांसदसँग दाहाल र नेपाल आफैंले पनि भेट गरेका छन् ।
दुवै पक्षले सांसदहरुलाई आफ्नो पक्षमा पार्न सबै शक्ति लगाएका छन् । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । ओलीइतर समूहले ओलीलाई निकास दिन भनिसकेका छन् । यस्तो अवस्थामा रहेका प्रधानमन्त्री ओलीले पार्टी बैठक टार्दै आएका थिए । यद्यपि बुधबार साँझ सचिवालय बैठक बस्दै छ ।
बैठकमा ओलीइतर समूहले विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई ‘निकास दिनुस्’भन्ने प्रस्ताव औपचारिक रुपमै राख्ने तयारी गरेका छन् । साथै स्थायी कमिटी बैठकबारे पनि निर्णय गर्न ओलीलाई दबाब दिने तयारीमा छन् ।
ई कान्तिपुरबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया