बाग्लुङकी ६५ वर्षीया महिलाले हासिल गरिन् कोरोनामाथि विजय

विदुर खबर २०७७ वैशाख ७ गते ६:५४

नुवाकोट । नेपालको छैटाैँ तथा  कोरोना संक्रमित बाग्लुङ नगरपालिका ३ गैँडाकोटकी ६५ वर्षीया महिलाको चौथोपटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालबाट शनिबार डिस्चार्ज गरिएकाे छ ।

Advertisement

चौथो टेस्टको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । पहिलो र दोस्रो स्वाब परीक्षणमा पोजेटिभ देखिएको उनको शुक्रबार तेस्रोपटकको स्वाब रिपोर्ट नेगेटिभ आएको थियो । त्यसको २४ घन्टामा पुनः स्वाब निकालेर चौथोपटक परीक्षणका लागि पोखरा पठाइएको थियो । तेस्रो र चौथो दुवैपटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेकाे हाे ।

गत ४ चैतमा बेल्जियमबाट कतार हुँदै बाग्लुङ आएकी उनलाई १७ चैतमा कोरोना संक्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । दम र उच्च रक्तचापको समस्या भए पनि उनले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेकाे धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज गरिए पनि ती महिलालाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिने पनि पोखरेलले बताए । उनीसँगै बेल्जियमबाट नेपाल आएकी बाग्लुङकै पहिलो संक्रमित तथा नेपालको पाँचौँ संक्रमित १९ वर्षीया किशोरीको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

Advertisement

यसअघि आज दिउँसाे  शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गराएर पूर्ण रूपमा स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ पनि डिस्चार्ज भएकी थिइन् । नेपालमा अहिलेसम्म ३० जनामा काेराेना संक्रमण देखिएकाेमा तीन जना उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

प्रतिक्रिया