विदुर नगरपालिकाको ‘सुत्केरी घरभेट अभियान’

विदुर खबर २०७७ वैशाख ६ गते १५:१८
विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेकी सुत्केरीलाई सुत्केरी मसला प्रदान गर्दै उपमेयर गीताकुमारी दाहाल ।

विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रहेकी सुत्केरीलाई सुत्केरी मसला प्रदान गर्दै उपमेयर गीताकुमारी दाहाल ।

नुवाकोट ।  घरमा नै सुत्केरी हुने परम्परालाई शून्यमा झार्न स्वास्थ संस्थामा सुत्केरी हुनेलाई विदुर नगरपालिकाले पोषण खर्च प्रदान गर्दै आइरहेको छ।

नगरपालिकाले मातृशिशु मृत्युलाई कम गर्न सुत्केरीलाई प्रोत्साहन स्वरुप अस्पताल वा बर्थिङ सेन्टरले उपलव्ध गराएको प्रमाणपत्रको आधारमा पोषण खर्च बापत ३ हजार रुपैयाँ दिने गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको फैलावटलाई कम गर्न सरकारले लकडाउन गरेको अवस्थामा विदुर नगरपालिकाले घरघरमा नै पुगेर पोषण खर्च उपलव्ध गराउन थालेको छ। विपद्को समयमा महिला, बालकालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति बढी जोखिममा पर्ने गरेका छन्। त्यसमध्ये पनि सुत्केरी र बच्चाको स्वास्थ्य र पोषणमा विषेश ध्यान नदिँदा उनीहरुमा शारीरिक तथा मानसिक समस्या आउन सक्ने भएकोले यो बन्दाबन्दीको समसयमा ‘सुत्केरी घरभेट अभियान’ सुरु गरिएको नगरपालिकाका उपमेयर गीता दाहालले बताइन्।

उपमेयर दाहालको अनुसार सुत्केरी भेटघाटमा जादा पोषण खर्च बापत ३ हजार रुपैयाँसहित नगरपालिकाले २ हजार रुपैयाँ बराबरको सुत्केरी मसला समेत प्रदान गरिरहेको छ।  सुत्केरी मसलामा एक क्रेट अन्डा, एक किलो घ्यू, ज्वानो, मेथी, छोकडा, नरिवल, मिश्रि, काजु लगायतका सामग्रीहरु समावेस गरिएको छ। बन्दाबन्दी सुरु भएदेखि चेत्र २७ गते बिहीबारसम्ममा नगरपालिकामा २५ जना सुत्केरी भएको तथ्याङ्क प्राप्त भएकोले प्रत्येकको घरमा पुग्ने लक्ष्य नगरपालिकाले राखेको छ।

चैत्र २७ गतेपछि सुत्केरी भएकाहरुको तथ्याङ्क जिल्ला अस्पाताल तथा बर्थिङ सेन्टरबाट लिनै बाँकी रहेको छ। लकडाउन भन्दाअघि सुत्केरी भएकाहरुले पोषण खर्च बापत ३ हजार रुपैयाँ लिन बाँकी रहेको छ भने पनि नगरपालिकालाई जानकारी गराएको अवस्थामा घरघरमा नै पुगेर उक्त रकम प्रदान गरिने उपमेयर दाहालले बताइन्।

प्रतिक्रिया