किन गुमनाम छन् मजदुर संगठन र मजदुर नेता ?

विदुर खबर २०७७ वैशाख ५ गते १७:०२
????????????????????????????????????

नुवाकोट । नयाँ वर्षको अवसरमा देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठिन भएकालाई स्थानीय सरकारहरु स्वयं राहत लिएर पुग्ने आश्वासन दिएका थिए ।

Advertisement

 

तर, परिस्थिति प्रधानमन्त्री ओलीले आश्वसन गरेजस्तो छैन, भोकै मरिने भइयो भनेर हजारौं मजदुर कठोर लकडाउन र रातसाँझ नभनी भोकभोकै घरतिर हिँडेका छन्।बिहीबारमात्रै पनि राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जानेक्रममा बिचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले भनेको छ, ‘सीमित खर्च लिइ घर छाडी हिँडेका नागरिकलाई स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिक ठूलो सङ्ख्यामा राजमार्गमा लामो पैदलयात्रा तय गरी दुःख, हैरानीका साथ आफ्नो गन्तव्यतर्फ असुरक्षितरुपमा हिँडिरहेका पाइएको छ।’

Advertisement

मजदुरका दु:खमाथि विपक्षी कांग्रेसले पनि चासो राखेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेका छन्। कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले उनीहरु पीडामा रहेका उल्लेख गरेका छन्।

 

Advertisement

मजदुरलाई लिएर चासो प्रधानमन्त्रीको छ, विपक्षीको छ र मानव अधिकार आयोगको पनि। तर, तिनै मजदुरको अधिकार र सुरक्षाका लागि बनेका राजनीतिक दलका मजदुर संगठन र तिनका नेताचाहिँ गुमनाम छन्। दु:ख पाएका मजदुरको उद्दार र राहतमा उनीहरु भूमिकाविहीन छन्। लाग्छ, मजदुरहरु चुनावताका झन्डा बोकाउने र आन्दोलनमा सडकमा उत्रार्ने ‘हतियार’ हुन्। सत्ताको सिढी चढ्ने भर्‍याङ। हजारौं मजदुर खान नपाएर भोकभोकै छटपटाइरहेका बेला कहाँ गुमनाम छन् मजदुर संगठन र तिनका नेता?

 

 

प्रतिक्रिया