धादिङमा बाहिरी जिल्लाबाट ढुवानीमा रोक

विदुर खबर २०७७ वैशाख ४ गते १५:२५

धादिङ । खाद्यान्न ढुवानीका नाममा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले लकडाउन थप कडा पारेको छ ।

Advertisement

प्रशासनले बिहीबार बाहिरी जिल्लाबाट हुने तरकारी, फलफूल र खाद्यान्न ढुवानीमा प्रतिबन्ध लगाएको छ  सदरमुकाम नजिकैको ज्वालामुखीमा र्‍यापिड टेस्टमा एक जनामा कोरोना पोजिटिभ देखिएको र दैनिक उपभोग्य वस्तुको खरिदविक्रीका नाममा लापरबाही बढ्न थालेकाले कडाइ गरिएको प्रजिअ अस्मान तामाङले बताए । बुधबारसम्म दैनिक दुईपटक खोल्न दिइएका तरकारी र खाद्यान्न पसल पनि बिहीबारबाट बन्द गरिएका छन् । मोटरसाइकलसमेत चल्न दिइएका छैनन् ।

जिल्ला उद्योग वाणिज्य संघसहितको जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना संक्रमण फैलन नदिन वैशाख ४ देखि १० गतेसम्मलाई ढुवानीमा प्रतिबन्ध लगाएको हो । वाणिज्य संघले सदरमुकाममा १७ हजार बोरा चामल मौज्दात रहेको र आन्तरिक उत्पादनबाटै सस्तोमा तरकारी उपलब्ध गराउन सकिने जनाएपछि रोक लगाइएको प्रजिअ तामाङले बताए ।

Advertisement

यसअघि धादिङका विभिन्न संकलन केन्द्रबाट काठमाडौं गएको तरकारी फेरि धादिङबेंसी ल्याइने गरेको छ भने तराईका जिल्लाबाट पनि ढुवानी हुँदै आएको थियो । जिल्लामै उत्पादित तरकारी विक्री नभएर किसान मर्कामा परेका बेला यहीँ खपत गर्न सके सबैको भलो हुने वाणिज्य संघ अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

 

Advertisement

भीडभाड बढेकै कारण बैंक तथा वित्तीय संस्था खोल्न पनि रोक लगाइएको छ । औषधि पसल पनि सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र खोल्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया