लोकप्रिय उपभोत्ता सहकारीको गरिव तथा विपन्न समुदायलाई राहत

विदुर खबर २०७६ चैत २७ गते १३:५८

ईनारपाटी । कोरोना भाइरसको संक्रमण,नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका ४० जना गरिव तथा विपन्न समुदायलाई विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडले राहत वितरण गरेको छ ।

Advertisement

विहिबार विहान सहकारीका पदाधिकारी सहितका टोलिले विदुर नगरपालिका वडा नम्बर ४,५ र ६ का ४० जनालाई राहत वितरण गरेको सहकारीका अध्यक्ष केशववहादुर कुमालले जानकारी दिए । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको अध्यक्ष कुमालले बताए ।

त्यस्तै लकडाउनको समयमा सहकारीका पदाधिकारीहरुले बैठक भत्ता कटाएर साच्चै अफ्ठ्यारोमा परेका र यसअघि कतैबाट पनि राहत नपाएका व्यक्तिहरुलाई राहत वितरण गरिएको सहकारीका सल्लाहकार तथा समाजसेवी लिलानाथ न्यौपानेले जानकारी दिए । उनले लकडाउनका कारण वास्तवमै मर्कामा परेका अन्य मजदुर र विपन्न समुदायलाई पनि सहकारीले सरोकारवाला निकायसँग समन्वय गरेर आगामी दिनमा सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

Advertisement

राहत सामग्रीमा चामल, दाल, तेल, मसला, नुनलगायतका खाद्य सामग्री रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् । यस्तै सहकारीले दैनिक ज्याला मजदुरी गरेर काममा खटिने मजदुरहरु समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरेको सहकारीका प्रबन्धक राजकुमार पौडेलले विदुर खबरलाई बताए ।

यसअघि विदुर नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गरेपनि आफुहरुलाई राहतबाट बन्चित गरिएको विदुर नगरपालिका वडा नम्बर ५ की निर्मला नेपालीले गुनासो पोखिन । वडाले बाँडेको राहतको लिष्टमा आफुजस्ता दैनिक काम गरेर गुजारा चलाउने परिवार नै नपर्नु दुखद भएको उनले बताइन ।

Advertisement

प्रतिक्रिया