भुइँ मान्छेको लकडाउन डायरी

विदुर खबर २०७६ चैत २२ गते १७:३२
राजमान तामाङ

                   राजमान तामाङ

धर्तिको रमणीय देशको कुरुप राजधानीमा छु।कुरुप यश मानेमा कि यो प्रकृतिका कारण कुरुप होइन,यहाँको राजनीतिलाई कुरुप भनिएको हो।अर्थात् प्राकृतिक सौर्न्दर्यको दृस्टीले कुरुप भन्न खोजेको बिल्कुल होइन।शुरुमै गलत अर्थ लाग्नसक्ने अनेक कारण यो स्पष्टीकरण लेख्नु परेको छ।यसको मार्क्सवादी सौन्दर्य शास्त्रीय ब्याख्या कमरेड मोहन बिद्ध्यले गर्लान र लोकतान्त्रिक समाजबादी सौन्दर्यशास्त्रीय व्याख्या प्रदीप गिरिले गर्लान् ।मेरो पुस्तासँग त्यो दम ,सपना, साहस ज्ञान छ जस्तो लाग्दैन।मेरो पुस्तासँग छ त दलाली, कमिसन र लूटको खेती गर्ने तजबिज छ।यो उनिहरुको नियत होइन,आजको अर्थराजनितीले तयार गरिदिएको उपरिसंरचना हो।

Advertisement

राजधानीको रूपमा रहेको यो उपत्यका आफैंमा प्रकृतिले बर्दान दिएकी जूनको टुक्रा झैँ लाग्छ मलाई ।यसलाई म कसरी कुरुप भन्न सक्छु र?वरिपरि घेरिएको हरिया डांडाकांडा र लुँटिदै गरेको चन्द्रागिरी दुबै देख्छु म।यो मैले बुझेको द्वन्दबाद हो।

उबेला यो आफैं नेपाल थियो।अहिले पनि उपत्यका बाहिरका मानिस यहाँ आउनुलाई नेपाल आउने वा जाने भन्छन् ।मेरै गाउँ नुवाकोटका बुढा पाक्का उपत्यका आउजाउलाई नेपाल जाने नै भन्छन् ।मेरो मातृभाषामा(तामाङ भाषामा ) उपत्यकालाई ह्याम्बु भन्छन् ।मेरो मातृभाषामा उपत्यका जानू वा आउने प्रक्रियालाई ह्याम्बु न्हिबा हाबा भन्छन् ।

Advertisement

गोर्खाली शासक पृथ्वीनारायण शाहको नजरमा उपत्यकाको बिकशित सभ्यता ,उर्बर भुमि, तिब्बतसँगको व्यापार र त्यसबाट हुने आम्दानीको हिसाब किताब परेपछि गोर्खा राज्य बिस्तारको सपना बुन्न थाल्यो।उपत्यका( उतिबेलाको नेपाल )जित्नको लागि उसले उसको ब्यापारीक नाका नुवाकोट जित्नु थियो जो उपत्यका संरक्षित राज्य थियो।१८०१मा नुवाकोट जितेपछि गोर्खा राज्यको राजधानी नुवाकोट बन्न पुग्यो।झन्डै २५बर्ष नुवाकोट गोर्खा राज्यको राजधानी बन्यो।उपत्यका कब्जा गर्ने रणनीति र फौजी कार्यनीति बनाउन हुन सक्छ अहिले पनि नुवाकोटको साततले दरबार वरिपरि असन ,इन्द्रचोक, बसन्तपुर जस्ता नामहरु रहेको पाइन्छ।अनेकन तिक्डम र षड्यन्त्र गरेर उनले उपत्यका माथि बिजय हासिल गरेपछि यो सुन्दर धर्तीलाई गोर्खा राज्यको राजधानी बनाए।जो युद्धको नियम थियोे नै।१८२५देखि यो गोर्खा राज्य पछि नेपाल भनियो को राजधानी बन्यो।२५१बर्ष देखि नेपाल देशको राजधानी बनेको छ यो उपत्यका ।अहिले यो संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानी हो।

यो रमणीय धर्ती पनि संसारका अन्य शहर झैँ लकडाउनको कहर बेहोर्न बाध्य छबिगत केही दिनदेखि ।सुनशान छ।लकडाउनको संकटले थिचिएर बाँचेका मानिसहरु यो शहरमा उकुसमुकुस छन् ।हातमुख जोड्न दिनभर श्रम गर्ने हाम्रा दाजुभाइ आकुल ब्याकुल छन् ।संकटको भयानक दुस्चक्रमा फसेका छन् मानिसहरु।कोभिड १९ कोरोना भाइरसका कारण बिश्वब्यापी रूपमा २.५अर्ब मानिस घरभित्र थुनिन बाध्य छन् ।दसौं लाख मानिस मृत्युसँग पौठेजोरी खेलिरहेका छन् हस्पिटलको बेडमा। सात अर्ब मानिस मृत्युको भयलाई नजिकबाट नियालीरहेका छन् ।

Advertisement

छ बर्ष पहिले मात्रै हामी नेपालीले बिनासकारी भुकम्पको त्रासद दृश्य नियालेका थियौँ ।हाम्रा हजारौं आफन्त गुमेका पीडा भुल्न भ्याएका थिएनौं सायद।घाइतेहरुका पीडा छररपस्ट छँदै थिए।

यो शहरकै कुरामा फर्कौं ।गएको करिब अढाइसय बर्ष यता यो शहर दुसित छ।कैयन समाजशास्त्रीहरु राजनीतिक अर्थशास्त्रका बैज्ञानिकहरु यो शहर अढाई सयबर्ष पहिले संसारकै बिकसित सभ्यता बोकेको शहर थियो भन्ने दाबी गर्छन् ।यो इतिहासको सच्चाइ पनि हो।पृथ्वीनारायण शाहको खुनी हमला पछि यो शहरको दोहोन भएको हो।त्यसै वरपर एसियामा बृटिस साम्राज्यवादको बहुलठिपुर्ण लुट शुरु भयो।त्यो लूटको सिकार हामी पनि भयौं ।उपत्यका बाहिरबाट नेपाल खाल्डोमा जून आँखाले पृथ्वीनारायण शाहले हमला गरे आजको मितिसम्म आइपुग्दा सिंहदरबारमा छिर्ने हरेक राजनीतिक नेतृत्व ,कर्मचारी र जङ्गी अड्डाको नेतृत्वको एउटै कर्म यो शहरको दोहोण बनेको छ।उपत्यका भन्दा बाहिरबाटै आएका मानिसहरूको राज चलेको छ हरेक नेतृत्वमा एकाधलाई छोडेर।अझ राजनीतिक जंगि प्रशासनिक नेतृत्व त एकछत्र उपत्यका बाहिरबाट आएकै मानिसको इतिहास पढ्नु परेको छ।

हामी एकातिर बृटिस साम्राज्यवादको लूटको सिकार भयौं भने आन्तरिक रुपमा शाह बंशको नेतृत्वमा रहेको सामन्तबादको।

आजको महामारीको बीचमा पनि यो दोहोनको शृङ्खला चलिरहेको छ।एकतिहाई जनसंख्या खाडि लगायत बिदेशी भुमिमा बाच्नको लागि संघर्ष गरिरहेका छन् ।तिनका परिबारको बेचैनी सामन्य छँदैछैन।आर्थिक ,सामाजिक मनोबैज्ञानिक बेचैनीको हिसाब गरि साध्य छैन।यसको भयानक असर परिबारको बिखण्डन र समाजको विघटन दिशा उन्मुख छ।हाम्रो सुन्दर सभ्यताहरु समेत मृत प्राय भएका छन् ।गलत परम्परा र सभ्यताको विघटन स्वभाबिक हो।हुनुपनि पर्छ।तर सबै परम्पराहरु गलत हुँदैनन् ।तिनको रक्षा हुनुपर्ने हो हाम्रो अर्थराराजनीतिले त्यो पनि विघटन गरिदिएको छ।

छिमेकी भारतमै हाम्रा लाखौं दाजुभाइ जिबनको खोजीमा भौतारिन पुगेका छन् र तिनीहरु त्यहीँबाट निस्किएर आफ्नो देश फर्किन खोजेका छन् ।दुर्भाग्यवश उनिहरु सिमानामा अलपत्र पर्नुपरेको दृश्यहरु कम दारुण छैनन् ।तर बालुवाटारमा लूटको धन्दा चलेको छ निर्लज्ज।मजदुरहरु काम रोकिएपछि हिंडेर भोकै आफ्नो गाउँ गैरहेका छन् ।दैनिक ज्याला गरेर खाने हाम्रा लाखौं दाजुभाइ रोगको भयभन्दा डरलाग्दो भोकको भयले त्रसिद छन् ।तैपनि बालुवाटार र सिंहदरबारका महासयहरुलाई बालछैन।कर्मकाण्डी राहतको घोषणा गरेर हाम्रो काम लकडाउन गर्नु हो भन्ने भाष्यलाई स्थापित गर्न खोजेका छन् ।भुइँ मान्छेको चीत्कार सुन्नेवाला छैन बालुवाटार ।बरु महासामन्त त्रिभुवनले झैँ भन्नेवाला छ मासुभात पनि खाना पाएका छैनन् ?

एकातिर भोक अर्को्तिर रोगको भयले सिर्जित त्रासदिका बीच श्रमजीवी जनतालाई घरभित्र थुनेर बालुवाटारमा घृणित प्रपन्च चलिरहेको छ।चालीस गुणा महँगो स्वास्थ्य सामाग्री खरिद गर्न राजनीति ब्यापार र राज्य संचालनको न्युनतम मर्यादा पनि कायम नगरी राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ।अझ समाचार प्रकाशन गर्ने मिडियाहरु माथी नै निर्लज्ज हमला गरेको खबरहरु बाहिर आएपछि यो देशमा नैतिकता भन्ने जिनिस कहाँ छ?दियो बालेर खोज्नुपर्ने भएको छ।सत्तामा बस्ने मानिसहरू यो मेरो मौजा हो भन्ने मनोदशामा भएको बुझ्न मनोबिज्ञानमा पिएचडी गर्नुपर्दैन ।एउटा अपराध छोप्न सयौं अपराध गर्नुपरेको छ।संबैधानिक निकायले छानबिन गर्न नपाउने अंग सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्ने ठेक्का दिएर के संकेत गर्दैछ ओलि ग्याङ बडो बिचित्र छ।क्याबिनेट सदस्यलाई नै जानकारी नदिइ किर्ते निर्णय गर्नुपर्ने कुन बिबशता थियो ओलिलाई?चन्द्र शमसेरलाई माथ गर्ने गरि राज्य लुट अहिलेको ओलि सरकारले गरेको छ।यो कुनै आरोप होइन।तथ्यहरु आफैं बोल्छन् ।

संसदिय लोकतन्त्रमा प्रतिपक्ष दलको भुमिकाले यो प्रक्रिया रोकिनुपर्ने हो।दुर्भाग्यको कुरा कमजोर प्रतिपक्ष सुझबुझ नभएको नेतृत्वको कारण अहिलेको सरकार सर्बसत्ताबादको घोडामा सबार छ।कम्तीमा मिडियाको भुमिका छ र केही प्रतिपक्ष छ झैं अनुभुत हुन्छ।नत्र राणा शासनमा झैँ सर्बत्र लूट हाम्रो नियती बनेको छ।

इतिहासमा बिरला कोटिका अबसर प्राप्त गर्ने मानिसहरु भित्र राजा महेन्द्र बिपि कोइराला बिरेन्द्र र केपि ओलि हुन् ।बिपिले शत्रु नै चिन्न सकेनन् ।महेन्द्रले केही राम्रा प्रयास त गरे तर तर जमिनदारबर्गको यी नायकका आफ्ना बर्गिय धर्म छँदै थिए।बिरेन्द्र आफ्न परिबारका धुन्धुकारी सदस्यहरुको घेराबन्दीका सिकार भए।अन्ततः बंश बिनासको कहालीलाग्दो इतिहास रचेर गए।ओलि झुपडीमा जन्मेर बालुवाटारमा दुईपटक मुकाम जमाउने सौभाग्यशाली नायक थिए।यिनका जिबनका उकाली ओराली गौरबमय थियो नै।तर जतिबेला बालुवाटारमा मुकाम जमाउने यात्रा हुँदै थियो ,त्यतिबेला उनी झापा बिद्रोहमा चौध बर्ष जेलजिबन ब्यतित गरेका कमरेड ओलि थिएनन् ।तिनी अनुदारबर्गको नायकको रूपमा बालुवाटार यात्रा गर्दै थिए।त्यसैले उनको यो यात्रामा रुमानी सपना देख्नु उतिबेलै ब्यर्थ थियो ।अहिले जे भैरहेको छ,ओलिको हिजोको आदर्श अनुसार भैरहेको छैन।बरु उनको बर्ग रुपान्तरणसँगै आफ्नो बर्गिय धर्म निर्बाह गरिरहेका छन् ।अनुदार बर्गको चरीत्र समाजको रुपान्तरण हुँदै होइन।बरु प्रतिगन हो।ओलि सत्ता उनकै भाषामा न बामपन्थ हो न कम्युनिस्ट । त्यसैले हामीले भन्नै पर्छ ,बरु यो अनुदार दक्षिणपन्थ हो।एउटा भुइँ मान्छेले भोगेको लकडाउन डायरी यहि हो।

प्रतिक्रिया