कोरोनाविरुद्ध वाग्मती प्रदेश: २५ सय बेडको क्‍वारेन्टाइन, ६ सय आइसोलेसन वार्ड

विदुर खबर २०७६ चैत २० गते ११:१४
सांकेतिक तश्वीर ।

नुवाकोट । वाग्मती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरसका (कोभिड—१९) रोकथाम, नियन्त्रण र उपचार गर्नका लागि २५ सय ३३  क्वारेन्टाइन र ६ सय १५ शय्या क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

Advertisement

सबैभन्दा बढी आइसोलेसन वार्ड चितवनमा निर्माण गरिएको छ। १ सय ९६ वटा आइसोलेसन तयार भइसकेका छन्। १ सय ८२ शय्याको क्वारेन्टाइन निर्माण भइसकेको छ। चितवनस्थित कोरोना अस्पतालमा ९ जना आइसोलेसन वार्डमा छन। यसैगरी दोलखामा ५९ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने १ सय १८ वटा बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। दोलखाका स्वास्थ्यकर्मीलाई ४८ थान पीपीई उपलब्ध गराइएको छ।

सिन्धुलीका ९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ। एक पालिकामा २ देखि ३९ सम्म क्वारेन्टाइन निर्माण गरिएको छ। सिन्धुलीमा १ सय ३ वटा क्वारेन्टाइन बेड तयार राखिएको छ। ५ वटा स्थानीय तहमा १४ वटा आइसोलेसन वार्ड निर्माण गरिएको छ। ४ वटा पालिकामा आइसोलेसन छैन। सिन्धुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा २ जनाको उपचार भइरहेको छ। उनीहरूको स्वाब परीक्षणका लागि बुधबार काठमाडौं पठाइएको छ। सेल्फ क्वारेन्टाइनमा १० जना बसेका त्यहाँका अधिकारीले जनाएका छन्।

यसैगरी नुवाकोटमा १० वटा आइसोलेसन वार्ड र एक सय ९१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। उक्त जिल्लामा विदेशबाट आएका १५ जना सेल्फ क्वारेन्टाइनमा छन् । उपत्याकासँग जोडिएको काभ्रे जिल्लामा २१ वटा आइसोलेसन वार्ड निर्माण गरिसकेको छ। नेपाली सेनालगायत स्थानीय तहको सक्रियतामा १ सय ४३ शय्याको क्वारेन्टाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। वागमती प्रदेशको दुर्गम जिल्ला रसुवामा २ सय १६ शय्याको क्वारेन्टाइन बनाएको छ भने ५२ शय्याको आइसोलेसन निर्माण गरिएको छ।

यसैबीच सिन्धुपाल्चोकमा १४३ शय्याको आइसोलेसन वार्ड तयार पारिसकेको छ। २ सय १३ बेड क्वारेन्टाइन निर्माण गरिएको छ। गाउँपालिकाहरूले क्वारेन्टाइन थप निर्माण गरिरहेका छन्। रामेछापमा २ सय २७ शय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ। २९ शय्याको आइसोलेसन तयारी अवस्थामा छ। यस जिल्लाका तेस्रो मुलुकबाट आएका ३६ जना क्वारेन्टाइनमा छन् भने एक जना आइसोलेसन वार्डमा छन।

Advertisement

धादिङमा ६ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ। उक्त जिल्लामा ४६४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ। विभिन्न मुलुकबाट आएका स्थानीय ३ महिलासहित ६९ जना क्वारेन्टाइनमा छन् ।मकवानपुरमा अहिलेसम्म १ सय ८६ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ। ३० बेडको आइसोलेसन पनि तयारी अवस्थामा छ। यस प्रदेशको १३ वटा जिल्लामा ३ सय २० वटा आईसियू तयारी अवस्थामा रहेको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए।

विभिन्न जिल्लाका क्वारेन्टाइनमा ६ सय ५४ व्यक्ति बसिरहेका छन्। प्रवक्ता सुवेदीका अनुसार यस प्रदेशका विभिन्न जिल्लाका १ सय ३३ जनाको स्वाब परीक्षण गरेकोमा १ सय १० नतिजा आइसकेको छ। सबैमा कोरोनाको लक्षण नेगेटिभ देखिएको छ।२३ जनाको रिपोर्ट आउन बाँकी छ। सबैभन्दा धेरै चितवन जिल्लामा स्वाब परीक्षण गरिएको छ। ५४ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा ४५ जनाको रिपोर्ट आएको सुवेदीले जनाए।

प्रतिक्रिया