माथिल्लो तामाकोसीको बाँधको परीक्षण

विदुर खबर २०७६ चैत ९ गते १७:५१

नुवाकोट । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलासययुक्त माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आइतबार निरीक्षण भ्रमण गरेका छन् ।

Advertisement

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तामाकोसीको बाँध तथा (सिन्डिकेटर बेसिन) बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा गएका हुन् । गत सोमबारबाट पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ । आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् ।

बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पुर्‍याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ ।बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिए ।

Advertisement

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित मितिमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिए । भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाइ थियो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो । काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उहाँले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए ।

 

Advertisement

प्रतिक्रिया