सिनेमामा कोरोनाको कहर, हल लगभग खाली

विदुर खबर २०७६ चैत ३ गते २०:४०

ज्याेति शाह ।  सोमबार सिभिल मलस्थित क्युएफएक्स सिनेमा हल पुग्दा पहिले जस्तो रौनक थिएन । केही समय अघि टिकट नपाएर घण्टौ कुर्नपर्ने सिनेमा हल सुनसान देखिन्थ्यो । टिकट काट्नेको संख्या निकै कम थियाे ।

Advertisement

कोरोनाले अर्थतन्त्र शिथिल बन्दा हल संचालकहरु पनि यतिबेला चिन्तित छन् । क्युएफएक्सका प्रबन्धक बिनोद पौडेल भन्छन्,’कोरोनाका कारण पहिले भन्दा दर्शक निकै कम छन् । ९९३ जनाको सिट क्षमता हो तर उपस्थिती न्युन छ ।’ ‘विश्वकै अर्थतन्त्र धराशायी भएको अवस्थामा हामी कसरी अछुतो रहन सक्छौँ र? तर पनि हामी सबै सतर्कता अपनाएर शो चलाइरहेका छौँ । दर्शकको उपस्थिति भएसम्म र सरकारको निर्देशन नआएसम्म हामी हल संचालन गरिरहन्छौँ,’ विनोद थप्छन् ।

सोही हलमा चलचित्र हेर्न आएका बीरगंजका शैलेश यादव भने ढुक्क देखिन्छन् । उनी सर्तकता अपनाएमा केही नहुने भन्दै नडराएको बताउँछन् । त्यसैगरी सिभिल ट्रेड सेन्टर,सुन्धारामा रहेको सिने डि सेफमा पनि चलचित्र हेर्न आउनेको संख्या निकै कम भएको देखिन्छ । उक्त हलमा अहिले केवल ५० प्रतिशत मात्र सिट भरिने गरेको छ ।

Advertisement

हाल काठमाडौंका प्राय सिनेमा हलको अवस्था यस्तो छ । विश्वभर फैलिएको कोरोना भाइरसको असर यतिबेला सिनेमा हलहरुमा देख्न सकिन्छ । सर्वसाधारणमा देखिएको कोरोना भाइरसको त्रास र सावधानीका कारण पनि सिनेमा हल सुस्ताइरहेको हो । नेपाल सरकारले भीडभाड हुने स्थलहरुबाट बच्न र सावधान हुन आह्वान गरेको अवस्थामा सर्वसाधारण पनि हलसम्म पुगेका छैनन् । यद्यपी हलमा सेनिटाईजरको व्यवस्था गरिएको छ।मास्क लगाएर आएका प्राय दर्शकले सेनिटाइजरको प्रयोग गरेर सिनेमा हेरेका छन् ।

क्युएफएक्सका प्रबन्धक विनोदका अनुसार सिनेमा हलमा दर्शकको उपस्थिति केवल कोरोना भाइरसका कारण मात्र नभई नयाँ चलचित्र रिलीज नहुनु पनि हो ।’दर्शकलाई नयाँ चलचित्र दिन सकेका छैनौँ भने दर्शकले त्यही पुरानै चलचित्र कहिलेसम्म मन पराउने ?’उनी प्रश्न गर्छन् । हल संचालक मात्र नभएर यतिबेला नेपाली चलचित्र क्षेत्रमा पनि कोरोनाको असर देखिएको छ । नयाँ चलचित्रका रिलिज मिति सारिएको छ भने छायांकन रोक्न चलचित्र निर्माता संघले अनुरोध गरेको छ ।

Advertisement

कलाकार,निर्माता तथा निर्देशक दिपक राज गिरीले प्राकृतिक प्रकोपको असर सबैभन्दा धेरै र छिटो मनोरन्जन क्षेत्रमा पर्दै आएकाले कोरोनाको प्रभाव पनि चलचित्र क्षेत्रमा परिसकेको बताए । उनले सिनेमा हेर्ने दर्शकको हलमा उपस्थिति कम भएको भन्दै सम्पूर्ण चलचित्रकर्मी पर्ख र हेरको अवस्थामा रहेको पनि बताए । तर पनि स्वास्थ्य सबैभन्दा ठूलो सम्पति भएकाले सर्वसाधारणले सावधानी अपनाउनुपर्ने दिपक सुझाउँछन् ।

यसैगरी हाल प्रर्दशन भइरहेको नेपाली चलचित्र ‘आमा’का निर्देशक ,लेखक तथा छायाँकार दिपेन्द« के खनाललाई चलचित्र र नाफा भन्दा पनि जिन्दगी रहनु नै ठूलो लाग्छ ।उनी भन्छन्,’कोरोनाका कारण केही दिनदेखि बजार अस्त व्यस्त छ, व्यापार पनि ठप्प छ ।’ उनी थप्छन्,’हामीले पहिलेका केहि हप्ताबाट नै ‘आमा’को लगानी उठाएर केही नाफा कमायौँ तर विदेशमा भने चलचित्र प्रर्दशन होल्डमा राखिएको छ । उनी यो समय कहिलेसम्म रहन्छ भन्ने आंकलन गर्न नसकिने भन्दै चिन्ता व्यक्त गर्छन् ।

विश्व अर्थतन्त्र नै कोरोना भाइरसका कारण प्रभावित हुँदा नेपालमा पनि यसको प्रभाव देखिएको हो । नेपाली चलचित्र क्षेत्र मात्र नभई यतिबेला सम्पूर्ण अर्थतन्त्रमा नै धक्का पुगेको छ ।

प्रतिक्रिया