‘सेन्टी भाइरस’ उत्रियो, हलमा ‘आमा’ को दबदबा

विदुर खबर २०७६ फागुन ३० गते २१:१८
गएको फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ शुक्रवारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुबाट उत्रिएको छ ।
तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् । यसको कारण फिल्मको व्यापार दिनानुदिन कमजोर हुनुलाई मानिएको छ ।  प्रदर्शनको दुई दिन फिल्मले आक्रामक व्यापार गरेको थियो । तर, समीक्षकबाट मिलेको खराब प्रतिक्रियाले आइतवारबाट फिल्मले कमाईमा उछाल कायम गर्न सकेन । फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशालामा खर्च गर्ने घोषणा गर्दा पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण ‘सेन्टी भाइरस’ ले दुई दिनबाहेक हलमा दर्शक ल्याउन असफल भयो ।
यो फिल्म बक्सअफिसमा कमजोर बन्दाको प्रत्यक्ष फाइदा दीपेन्द्र के. खनालको फिल्म ‘आमा’ लाई मिलेको छ । चौथो हप्ताबाट ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिँदा ‘आमा’ ले भने आफ्नो दबदबा कायमै राखेको छ । यी दुई फिल्म एकसाथ मैदानमा उत्रिएका थिए । चौथो हप्तामा क्यूएफएक्स चेनमा ‘आमा’ ले ७ सोज पाएको छ । अघिल्लो हप्ता फिल्मलाई १६ सोज थियो । माउथ पब्लिसिटी तगडा भएका कारण यो फिल्म लामो रेसको घोडा बन्न सफल भएको हो । तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो फिल्मले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि केही दिनयता हलमा दर्शकको उपस्थिति न्यून छ । जसको असर ‘आमा’ को व्यापारमा परेको छ ।
कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली फिल्म छैनन् । आज शुक्रवारबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण फिल्मको रिलिज स्थगित भयो । यद्यपि, शुक्रवारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्मलाई शुक्रवार विहान दर्शकको औसत साथ मिलेको छ ।

प्रतिक्रिया