महिला नेतृत्वमा रहेका काठमाडौंका सामुदायिक विद्यालय अब्बल

विदुर खबर २०७५ वैशाख १४ गते ७:४०

काठमाडौं । महिलाहरु सबै क्षेत्रमा अगाडि आउनुपर्छ भन्ने मुद्दा निकै पुरानो हो । त्यसमाथि अहिलेको संविधानले हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गरिदिएको छ । तथापि, अझै पनि नेतृत्व तहमा महिला ‘सपनाप्रायः’ छ ।
महिला नेतृत्व तहमा पुगेका काठमाडौंका सामुदायिक विद्यालयहरु अब्बल देखिएका छन् ।

३० र ४० को दशकतिर नै महिला प्रधानाध्यापकहरुले विद्यालयको जिम्मेवारी बहन गरिसकेका थिए ।  तर, उनीहरु कन्यामात्रै पढ्ने विद्यालयको प्रधानाध्यापक थिए । त्यसमा भने अहिले केही फेरबदल आएको छ ।
काठमाडौंका ऐतिहासिक सामुदायिक विद्यालयलगायत अन्य केही यति बेला महिलाको काँधमा छ । झन् भूकम्पले तहसनहस पारेको विद्यालयलमा विद्यार्थी टिकाइराख्न र पुनर्निर्माणका लागि धाउनु पर्नेदेखि अनेक झमेलाहरुलाई किनारा लगाउँदै शैक्षिक गुणस्तरियताको सिँढी चढ्न दर्विलो हुनुपरेको छ ।

राजधानीस्थित पद्मोदय माविकी प्रधानाध्यापक मिना कोइराला भन्छिन्– सामुदायिक विद्यालयको अवस्था खस्किँदै गएको वर्तमान अवस्थामा यसलाई बलियो बनाउँदै लैजानु सबैभन्दा ठुलो चुनौती हो ।”

उनी सुनाउँछिन्, “नियमितता भन्ने कुरामा कडाइ गरेका छौँ । पहिलो प्राथमिकतामा पठनपाठन राखेका छौं, त्यस्तै गुणस्तरीयतालाई सम्झौता गर्न दिन्नौँ ।”  उनको मान्यता बडो सपाट छ, “सामुदायिकमा पढ्न आउने विद्यार्थीलाई स्तरीय शिक्षा दिनु अत्यावश्यक छ । त्यसका लागि कहीँकतैबाट कञ्जुस्याइँ हुनुहुँदैन ।

बालबालिकालाई आकर्षित गर्न प्रधानाध्यापक कोइरालाले शिशु कक्षादेखि १ कक्षासम्म दिउँसो खाजाको प्रवन्ध मिलाएकी छन् । त्यस्तै वर्षको एकजोर लुगा दिएरै विद्यार्थीलाई ‘ड्रप आउट’ हुन नदिने लक्ष्य लिएकी छन् । उनलाई थाहा छ– सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुन समस्या होइन, टिकाउन हो ।

त्यसो त उनले प्रत्येक वर्ष केही न केही नयाँ योजना ल्याएकै हुन्छिन् ।  किनभने विद्यार्थीहरु त्यसमै रमाउँछन् । यस शैक्षिक सत्रका लागि पनि नयाँ आर्कषण पैदा गर्ने उनको कोसिस छ ।  प्रधानाध्यापक मिना कोइराला थप्छिन्, “पद्मोदयमा ०४४ सालदेखि स्काउट रोकिएको थियो तर यस वर्षदेखि पुनः सुरु गर्न लागेका छौं । यसले असल नागरिक तयार गर्छ ।”
त्यस्तै उनले नृत्य, कला, गायन, वाचनलगायतका अतिरिक्त कक्षाको प्रवन्ध मिलाउने तयारी थालेकी छन् । जसले विद्यार्थीमा ज्ञान र सीपमा अभिरुची पैदा गर्छ । सामुदायिक–शिक्षालाई सक्षम र सवल पद्मोदयको आदिम शान कायम राख्दै थप गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोको रुपमा विकास गर्न चाहने उनको योजना छ ।

“एसईईमा विद्यार्थी कमै भएपनि पहिलाको जस्तो रेकर्ड ९९ प्रतिशतलाई कायमै राख्ने जमर्को गरिराखेका छौँ,” भविष्यको योजना सुनाउँछिन् उनी । डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक रीता तिवारी ४३ वर्षकी भइन् । तर शिक्षण सिकाइ क्रियाकलापमा आमूल परिवर्तन ल्याएर विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने उनको जोस १६ वर्षेजत्तिकै छ ।

उनी प्रअ हुनुअघि यो विद्यालयमा एसएलसी रिजल्ट चिन्ताजनक थियो । तर प्रअ सम्हालेयता भने विद्यालयको रुपरङ्ग नै फेरिइसक्यो । हाल एसईईको रिजल्ट शतप्रतिशतमा कायम भएको छ । त्यतिबेला विद्यार्थीको आकर्षण खासै थिएन तर अहिले बालिकाहरु विद्यालयमा नियमित प्रायः हुन्छन् । छात्राहरुमा प्रतिस्पर्धाको भावना कम देखिरहेको छु भन्दै उनले त्यो भावना अझ बढाउँदै लैजानुपर्नेमा जोड दिन्छिन् ।

कक्षा १२ सम्म झण्डै १ हजार छात्रहरु अध्ययन गर्ने यो स्कुलमा प्रअ तिवारीले प्राविधिक कक्षा अन्तर्गत सिभिल इञ्जिनियरिङ सञ्चालनमा ल्याइन् । साथै उपल्लो कक्षाका शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न हरेक शनिबार परीक्षा लिने परिपाटी बसालेकी छन् ।
प्रअ तिवारी सुनाउँछिन, “शनिबार पनि फुर्सत नदिने भनेर परीक्षा लिइरहका छौं । विद्यालयमा इसीए कमिटी र परीक्षा कमिटीले कार्यतालिका बनाएरै परीक्षा लिने गरेका छौं । हाम्रा विद्यार्थीलाई प्राइभेट स्कुल सरह तयार गर्देछौं । र, अर्को कुरा सरकारी विद्यालयमा जुनै विद्यार्थीलाई भर्ना लिनुपर्ने हुन्छ तर सबैको घरमा पढ्ने अवस्था राम्रो हुँदैन ।”

यही चुनौतीलाई सामना गर्नेगरी शनिबार परीक्षाको सञ्चालन गर्ने गरेको उनको अनुभव छ । पद्मोदयमाजस्तै खाजाको प्याकेज उनको विद्यालयमा पनि छ, कक्षा २ सम्म । आगामी दिनमा कक्षा ५ सम्मै पु¥याउन कृतसङ्कल्पित छिन् उनी ।

विद्यालय टिमको लगनले नै नयाँ शैक्षिक सत्रमा भर्ना अभियानले ९० जना नयाँ विद्यार्थी तानेको बताइन् । साथै प्राविधिक शिक्षा लागु गरेपछि माथिल्लो कक्षामा विद्यार्थी आकर्षित भएको बताउँछिन् उनी ।  हाल भारतीय दूतावासको सहयोगमा विद्यालयमा १ सय बालिका अट्ने छात्रावास निर्माण भइरहको छ । यही वर्षभित्र भवन तयार गरिसक्ने उनको अठोट छ ।

यी दुईमात्र होइन राजधानीका झण्डै २ दर्जन सामुदायिक विद्यालय महिलाको हातमा छ ।  मध्य बानेश्वरको रत्नराज्य विद्यालय, रानीवनस्थित बालविकास मावि, बागबजारस्थित सहिद शुक्रराज मावि, कालिमाटीस्थित नीलबाराही, नक्सालस्थित नन्दी मावि लगायतमा प्रअ महिलाले आशलाग्दो गरी जिम्मेबारी बहन गरेको देख्न सकिन्छ ।

पद्मोदय विद्यालयकी प्रअ कोइरालाले बालिकाको समस्या बुझ्न फोकल पर्सन राखेको जानकारी दिइन् । केटाहरुले जिस्काउने, महिनावारी वा अन्यखालका समस्या देखिए बोलाएर काउन्सेलिङ गर्छिन् ती शिक्षिकाले ।

“सामुदायिकमा केही घरमा काम गराएर राखेको बालबालिबाकाहरु पढ्छन् । हामीले तिनका मेन्टरलाई बेला बेला सजग गराउछौं, पढ्नलाई समय दिनूस् भन्छौं,” उनले थपिन् ।

शिक्षाविद्हरुको बुझाइमा महिला प्रअले बालबालिकाको समस्या संवेदनशिलताका साथ बुझने, केलाउने र आफ्ना छोराछोरीसरह माया प्रर्दशन गर्ने हुँदा महिला प्रअ भएको विद्यालय राम्ररी चलेका छन् । नयाँ भर्ना अभियानले पनि सो कुराको पुष्टि गर्छ ।

पद्मोलय स्कुलकी प्रअ कोइरालाका अनुसार पुराना विद्यार्थी झण्डै १ हजारको हाराहारीमा छ भने नयाँ भर्ना पनि ७५ भन्दा बढी छ । जबकि दरबार हाइस्कुलमा पुराना विद्यार्थी १ सय ८० मा नयाँ भर्ना ३५ जति रहको विद्यालयका प्रअ हेमचन्द्र महतोले जानकारी दिए ।
वैशाख १२ गतेको भूकम्पले पद्मोदय विद्यालय बस्न नमिल्ने गरी भत्केको तेस्रो वर्षमा विभिन्न कागजी प्रकृया र ताकेता गर्दै प्रअ कोइरालाले निर्माणको पहल गरिन् । हाल पुर्न निर्माण आधा भइरहेको बताउँदै उनले अहिले एडीबीको ऋण सहायताबाट बाट ७ करोडको लागतमा २४ कोठे भवन बनिरहेको छ ।

तेस्रो तल्लाको ढलान समेत भइरहको बताउँदै उनले यो वर्ष मंसिरमा हस्तानान्तरण गर्ने सम्झौता भएको बताइन् । यसमा विद्यालयका सबै कर्मचारी, शिक्षकको समन्वय र सहयोग रहेको उनको कथन छ ।

प्रतिक्रिया