अभिनेत्री आँचल शर्माले गरिन् बिहे

विदुर खबर २०७६ फागुन ३० गते ७:४८
‘नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।
बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।  अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।
गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।
उदिपसँग आँचलको फेसबुकको माध्यमबाट चिनजान भएको हो । र, म्यासेन्जरमा कुराकानी गर्दै जाँदा उनीहरु एकअर्काको प्रेममा डुबेका थिए । २०१८ अक्टोबर ३१ को दिन उनीहरुको पहिलो पटक १५ मिनेटका लागि उदिपको गाडीमा भेट भएको थियो । भने, डिसेम्बर १८ का दिन आँचललाई आफ्नै अफिसमा बोलाएर उदिपले फूलको गुच्छा दिँदै प्रेम प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया