चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने सहमति

विदुर खबर २०७६ फागुन २६ गते १४:३०

नुवाकोट । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति भएको छ । रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको हो ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ । टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ पहिरेबेसीमा निर्माणाधीन त्रिसूली–३ ‘बी’ हब सबस्टेसन, कार्यालयमा निर्माणामा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जान नदिन कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरुको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ ।

Advertisement

सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमश: ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्नेछ ।ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेश भएका विलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुंग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने छन् । चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्नेमा जोड दिए । ‘तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको निर्माण सक्न धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,त्यसैले निर्माणलाई तिब्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिंड्नुहोस्,’उनले भने ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्ने छौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्ने छ ।’

Advertisement

ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ । प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिए ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने बाध्यता रहेको छ । निर्माण सामग्री तथा उपकरण लैजानका लागि अहिले रोपवेसमेत बनाइएको छ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३ बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्ने छ । ठेक्का सम्झौताअनुसार, प्रसारण लाइनको आगामी फागुनको दोस्रो साता (२९ फेब्रअरी २०२०) भित्र निर्माण सम्पन्न हुनु पर्ने थियो । अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ । परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

प्रतिक्रिया