प्रहरी सेवा र समसामयिक घटनाक्रमहरुले उब्जाएका जिज्ञासा

विदुर खबर २०७६ फागुन २५ गते २०:१५
शान्ति सुरक्षा देश बिकासको मेरुदण्ड नै हो भन्दा अतियुक्ति नहोला, अझ शान्ती सुरक्षा बिना “समृद्ध नेपाल सुखि नेपाली” भन्ने बर्तमान राष्ट्रिय  उद्देश्य पूरा हुने कल्पना पनि गर्न सकिँदैन ।
शान्तिसुरक्षा र प्रहरी भन्ने शव्द नै पर्यायवाची जस्तै लाग्छ, प्रहरिलाई कानुनले दिएको जिम्मेवारीका अधारमा शान्तिसुरक्षा र प्रहरी संगठन एक अर्कामा पुरक छन जो एक अर्कासंग छुट्टिएर रहनै सक्दैनन् । जब बिकासको गति बढ्दै घर, टोल, समाज, समुदाय हुँदै राष्ट्र आधुनिकिकरण तिर लम्कने क्रममा विद्यमान समयमा देखा परेका केही नागरिकका  राष्ट्र र समाजप्रतिको कर्तव्य र जिम्मेवारी विहिन स्वतन्त्रताले उब्जाएको अराजकताले सुस्त विषका रुपमा फैलिएर सुरक्षा चुनौतिका रुप धारण गर्नु एबं अन्य अपराधिक मनोवृत्तिका मानिसहरुको गतिबिधिका कारण समाजमा अपराध कार्यहरु हुन थाल्छन तब उक्त क्रियाकलाप नियन्त्रण गर्नका लागि व्यक्ति, समाज र राष्ट्रलाई प्रहरीको आवश्यकता महशुस हुन्छ ।
प्रहरी असल नागरिकका लागि साथी नै हो; प्रहरीको कार्यक्षेत्र पनि असिमित छ, व्यक्ति वा समाजलाई विपत्ति पर्दा वा अन्याय हुँदा सर्वप्रथम सम्झिने प्रहरीलाई नै हो ।  बाढी, पहिरो, अागलागि, भू-कम्प जस्ता बिपत्ति वा अन्यायमा परेका नागरिकका लागि देव समान प्रकट हुने प्रहरी अपराध र अपराधिक व्यक्ति वा समूहमाथी राक्षस नै सरह उत्रनुपर्ने हुंदा प्रहरी सबैको साथी कदापी हुन सक्दैन । खवरदार ! “प्रहरी मेरो साथी” को नागरिक केन्द्रित नारालाई खिसिटिउरी गर्नेहरु मनपरी गर्नका लागि प्रहरी साथी होईन र हुदैन पनि ।
असल प्रहरिले आफ्नो कार्यक्षेत्रमा कुनै किसिमका अवाञ्छित गतिविधि नहोस भनी प्रार्थना गर्दछ र उसले त्यस्ता गतिविधि हुन गर्न नपाउने गरि मजबुद सुरक्षा रणनीति बनाएर सोही अनुरुप कार्य गर्ने गर्दछ र आफ्नो कार्यक्षेत्र भित्रका जनताले शान्ति सुरक्षाको महशुस गर्नु, प्रहरीप्रति विश्वास जगाउनु नै आफ्नो ब्यबसायिक सफलता हो भन्ने कुरालाई शिरोधार्य गरेर अगाडि बढेको हुन्छ । कहिलेकाहीँ केही प्रहरी कर्मचारी अपराधिक व्यक्ति वा समूहमा संलग्न भएका कारण पवित्र संगठनको बदनाम मात्र भएको छैन नागरिकले अविश्वास गर्ने वातावरण पैदा हुँदा कानून बमोजिम कारबाहीको दायरामा ल्याइएका थुप्रै उदारणहरु छन र कारवाही गर्नु जरुरी पनि छ ।  समाजका बिकृति, बिसङ्गती, अन्याय अत्याचारका बिरुद्ध लड्ने प्रहरी सफा नियतको हुनु जरुरी छ, नियत सफा राखेर संगठनको उद्देश्य अनुरुप निश्वार्थ भावनाले राष्ट्र र जनताका सेवा गर्दागर्दै पनि कहिले काहीँ सामान्य कमजोरीका कारण प्रहरी स्वयं र संगठनमाथी प्रश्नचिन्ह लाग्ने र प्रहरी कर्मचारीको ब्यक्तिगत जीवन समेत अस्तव्यस्त भएका कैयन घटना हाम्रा सामू छर्लङ्गै छ । तर कहिलेकाही परिस्थिति यस्तो बनिदिन्छ कि, नियत पनि सफा छ, संगठनकै उद्देश्य अनुरुप जिम्मेवारी वहन गर्ने क्रममा बिना गल्ति बिना कमजोरी कोही प्रभावशाली व्यक्ति वा समूहको स्वार्थ वा ईगोको कारण बदनाम भएका, कारवाहीको भागिदार भएका र जागिरबाटै बरखास्ती भएका परिघटनाहरु पनि जग जाहेर नै छ  ।
प्रहरी सेवा अती नै संवेदनशील जिम्मेवारी हो, यो जिम्मेवारी सम्हाल्ने व्यक्ति अत्यन्त संयमित र सुझबुझका साथ काम गर्न सक्ने र शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त हुन पनि उत्तिकै जरुरी छ । सम्पूर्ण रुपमा चुस्त दुरुस्त हुन उसले प्राप्त गर्ने सेवा सुविधा, दक्षता अनुरुपको जिम्मेवारी (जनशक्ति ब्यबस्थापन), सामाजिक एवं पारिवारिक प्रतिष्ठा, काम गर्ने वातावरण, हाकिमको कार्यशैली र उत्प्रेरणा आदिले पनि प्रभाव पारेको हुन्छ । अन्य सेवामा जस्तै नेपाल प्रहरीमा पनि विभिन्न तह र श्रेणी भएतापनि मुख्यत: दुई श्रेणि  – राजपत्रांकित र राजपत्र अनंकित  छन र यी दुई श्रेणीबिच नै विभेद रहेको महसुस हुँदै आएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्ने क्रममा राजपत्रांकित श्रेणीका उच्च पदस्थवाट निति तथा कार्ययोजना तर्जुमा गर्ने र कार्यन्वयनको चरणमा राजपत्र अनंकित श्रेणीका प्रहरी कर्मचारी फिल्डमा वढी खटिनुपर्ने अवस्था बिद्यमान रहेतापनि तल्ला तहका कर्मचारीका लागि आकर्षक सुविधा ल्याउन नसक्नु, बेला बेलामा भएका सुबिधा पनि खोसिने हल्ला फैलनु मात्र नभई एउटा सेवा सर्त मानेर सेवामा समावेश हुन आएकोमा पछिल्लो समय नियमावली परिवर्तन गरेर निवृतिभरणको अवधी लम्ब्याईएको जस्ता कारणले तल्ला तहमा निराशा पैदा हुने र त्यसको प्रत्यक्ष असर शान्ति सुरक्षमा पर्नेतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
अझ रोचक कुरा त के छ भने एकाथरी  प्रहरी कर्मचारी दिन रात आफु र परिवार समेतको ख्याल नगरी संगठनको उद्देश्य प्राप्त गर्ने दिशामा निश्वार्थ लागिरहन्छ, उ संगठनमा विभिन्न समयमा हुने सरुवा, बढुवा एवं अन्य अवसरमा पनि पछि परिरहेको हुन्छ भने अर्काथरी प्रहरी कर्मचारी संगठनले दिएको जिम्मेवारिलाई हेलचेक्याई गर्छ, समयमा जिम्मेवारी बहन गर्दैन, आफ्नो ब्यक्तिगत स्वार्थ र वृत्तिबिकासमा मात्र निहित हुन्छ र शक्ति केन्द्रमा पहुँच पनि राख्छ र बिभागिय सेवा सुबिधा र अवसर प्राप्त गर्ने हैसियत राख्छ । अनि संगठनको नीति पनि त्यस्तै छ आफुलाई कस्तो जनशक्ति चाहिने हो त्यही अनुरुपको क्राईटेरिया बनाएर सोही अनुरुपको कर्मचारी भर्ना गरिसकेपछि संगठनका लागि योग्य बनाउने दायित्व कसको हो ? ब्यवसायिक कार्यकुशलतालाई महत्व दिनुपर्छ कि पर्दैन ? व्यवसायिक कार्यकुशलता भन्दा व्यक्तिगत योग्यतालाई महत्व दिने भए सबैलाई विश्वविद्यालय भर्ना गरिदिए हुदैन र ? किन कसैलाई काखा, कसैलाई पाखा ? अनि शुरुमा भर्ना हुंन आएको योग्यताले संगठनभित्रको सुबिधा पाउन किन वञ्चित हूनुपर्ने ? मिसन खटिने कर्मचारीलाई फ्रेन्च वा अंग्रेजी भाषामा परिक्षा उतिर्ण गर्नुपर्ने ब्यवस्था अवलम्बन गर्ने संगठनले आफ्ना सबै कर्मचारीलाई अंग्रेजी/फेन्च भाषा सिकाउने ईन्ष्टिच्युट भर्ना गराउने वातावरण र सबैलाई समय दिन सक्छ ? के सवै कर्मचारी त्यसरी आफ्ना ब्यक्तिगत वृत्तिबिकासमा मात्र लागे भने संगठनले आफ्नो लक्ष्य हासिल गर्न सक्छ ? अनि क्षमता भएर पनि बिभागिय कार्यभारकै वोझले थिचिएका तर शक्ति केन्द्रको पहुँच वा शैक्षिक योग्यता कम भएकालाई भर्ना गरेर कागति निचोरेझै निचोर्न हुने तिनिहरुलाई सुबिधा दिन नहुने नीति कुन आधारमा बैज्ञानिक छ ? यसरी नै विभिन्न समयमा विभिन्न पदमा बढुवा गरिएको आधारलाई हेर्ने हो भने बिभागिय कामप्रति निष्ठावान, आज्ञाकारी हुनुभन्दा बिभागिय कामलाई लत्याएर आफ्नो शैक्षिक योग्यता बाढाउन मात्र तल्लिन रहने, बिभागिय कार्वाहीको कुनै पर्वाह नगरी आफुखुसी गर्नेहरुलाई प्रोत्साहन मिलेको छ, साथै नेपालका बिभिन्न दुर्गम क्षेत्रमा बसेर सेवा गर्ने र स्वच्छ छवी तर शैक्षिक योग्यतालाई अगाडी बढाउने अवसर नपाएकाहरुलाई हरेक अवसरमा निरुत्साहित गरेको महशुस भईरहेको छ  । जसले गर्दा भावी पुस्तामा कार्वाहीको प्रभावकारीता मत्थर हुने र कर्मचारी व्यवस्थापनमा ठूलो चूनौति सिर्जना हुन गई शान्ती सुरक्षा र अपराध अनुसन्धान गर्ने कार्यमा समेत प्रत्यक्ष असर पुग्ने र हाल राष्ट्रले मागेको जस्तो प्रहरी सेवा पाउनेमा समेत शंका उत्पन्न हुन गएको छ ।
बिद्यमान अवस्थालाई मध्यनजर गर्दा जनताको सेवामा खटिने सच्चा प्रहरीलाई कानुनको कार्यान्वयन गर्ने गराउने सिलसिलामा राजनीतिक नेता तथाा कार्यकर्ताबाट नै चुनौति बढेको, प्रहरिको अवमूल्यन हुँदै गईरहेको, अपराधिक गतिबिधिमा संलग्न ब्यक्ति एवं समूहलाई प्रहरीको डर हराउदै गईरहेको छ, यस्तो अवस्थामा तल्ला तहका प्रहरी कर्मचारीको मनोवल उच्च वनाउनेतर्फ कसैको ध्यान गएको छैन, यतिसम्मकी माथिल्ला ओहदाका हाकिमहरु विभागीय सेवासुविधा भोग गर्न लालायित हुँदै ३० बर्षे कार्यकाल पूरा भईसक्दा पनि घर जान नपरोस भनी सेवा अवधी थप गर्न शक्ति केन्द्र धाईरहदा तल्ला तहका प्रहरी कर्मचारी स्वेच्छिक अवकास वा उपदानमा घर जान भनी राजीनामा दिंदा समेत राजीनामा स्वीकृत नगरेरै जवरजस्त संगठनमा अल्झाईनुले पनि अड्कल काट्न सकिन्छ कि तल्ला तहका प्रहरी कर्मचारीको सेवा सुविधा उनीहरुको खटाई अनुसार पर्याप्त छैन भनेर ।
सत्य सधै तीतो नै हुन्छ, यस्तै अवस्था रहिरहेमा अवको १५ बर्ष पछि नेपाल प्रहरीमा राजपत्र अनंकित श्रेणीमा भर्ना खुल्दा नेपाली नागरिकबाट दरखास्त फारम नपर्ने अवस्था नआउला भन्न सकिन्न जसको प्रत्यक्ष असर समाज र  देशको दिगो शान्तीमा अवश्य पर्नेछ अनि बैदेशिक रोजगारका कारण धमिलिदै गएको सामाजिक परिवेशलाई यसले पनि थप मलजल नगर्ला भन्न सकिँदैन । त्यसैले सम्बन्धित पक्षको समयमै ध्यानाकृष्ट होस र यो पंतिकारले अनुमान लगाएका कुराहरु झुट सावित गर्नेतर्फ कदम चालियोस, “समृद्ध नेपाल सुखी नेपाली” को नारालाई सफल बनाउन दिगो शान्ति अपरिहर्य छ, दिगो शान्तिका लागि सकल दर्जाका प्रहरीको मनोवल उच्च राख्नु अावश्यक छ ।
क्षितिज

प्रतिक्रिया