क्यान्सर अस्पताल बनाउँदै श्वेता खड्का

विदुर खबर २०७६ फागुन १९ गते २१:०८
दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कान्छी’ पछि पर्दामा नदेखिएकी अभिनेत्री श्वेता खड्का क्यान्सर अस्पताल निर्माणमा जोडिएकी छन् । उनीसहित क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुको समुहले गोदावरी नगरपालिकाको छम्पीमा निर्माण गर्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सोमवार शिलन्यास गरिएको छ । अस्पतालको निर्माण दुई वर्षभित्र पूरा हुनेछ ।
क्यान्सरबाट श्रीमान् श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमाएकी श्वेताले क्यान्सर अस्पताल निर्माणमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । नेपालमा उत्कृष्ट क्यान्सर अस्पताल बनाउन आफ्नो टिमले कुनै कसर नछाड्ने बताउँदै उनले भनिन्, ‘क्यान्सर अस्पताल निर्माण गर्ने मेरो ५ वर्षदेखिको धोको हो । अब, त्यो पूरा हुने बाटोमा छ ।’ उनका अनुसार, यो अस्पताल सय शैय्याको बन्नेछ ।
अस्पताल निर्माण भएपछि क्यान्सर पीडितलाई न्यून पैसामा उपचार गर्ने उनको भनाई छ । अभिनेत्री श्वेताले अस्पताल निर्माणका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् । क्यान्सरसँग लडिरहेका तर उपचार गर्न पैसा नभएकाहरुलाई सहयोग गर्न आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनी बताउँछिन् । पैसा कमाउन अस्पताल निर्माण गर्न नलागेको पनि उनले बताइन् ।
क्यान्सर भएपछि निको हुँदैन भन्ने सोच्नेलाई अभिनेत्री मनीषा कोइरालाको उदाहरण दिँदै अभिनेत्री श्वेताले थपिन्, ‘यो क्यान्सर अस्पतालसँग मनीषा कोइराला पनि जोडिनुभएको छ । क्यान्सर भन्ने वितिक्कै हामी सबै होपलेस हुन्छौं । निको हुँदैन भन्ने सोच्छौं । तर, हामीसँग सबैभन्दा ठूलो उदाहरण मनीष दिज्यू हुनुहुन्छ । यो अस्पतालले क्यान्सर हुनभन्दा नहुन जनचेतना फैलाउनेछ ।’

प्रतिक्रिया