अर्को दशैंमा दीपकराज र रामबाबुबीच इगोको लडाईं !

विदुर खबर २०७६ फागुन १९ गते २१:०६
दशैंको विदामा फिल्म प्रदर्शन गर्दा लगानी उठ्ने लगभग ग्यारेन्टीझैँ हुन्छ । दशैंमा लामो विदा हुने भएका कारण दर्शकको ठूलो भीड हलसम्म आउने सोचाइले नेपाली निर्माताबीच दशैं विदामा फिल्म प्रदर्शन गर्न हानाथाप हुने गरेको छ । यस वर्षको दशैंको घटस्थापना र फूलपातीमा पनि फिल्म प्रदर्शनका लागि ठूलो रस्साकस्सी भएको थियो । तर, कुनै फिल्मबीच भिडन्त भने भएन ।
२०७६ सालले विदा पनि नमाग्दै अर्को वर्षको दशैंको फूलपातीका लागि ठूला ब्यानरले अहिलेदेखि नै फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालिसकेका छन् । अहिलेसम्म दशैंको फूलपातीका लागि आधा दर्जन बढी फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् । यसमा हिट फिल्मका सिरिज धेरै छन् । यीमध्ये तोकिएकै मितिमा चाहिँ कति फिल्म प्रदर्शनमा आउँछन् ? त्यो भने हेर्न बाँकी छ ।
महजोडीले निर्माण गर्ने फिल्म, ‘छक्का पन्जा ४’, ‘अल्लारे २’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, र ‘प्रेम पूजा’ ले अर्को वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेका छन् । अभिनेता अनमोल केसीले अभिनय गर्ने फिल्म ‘पारस’ पनि २०७७ सालको दशैंको फूलपातीमा प्रदर्शनमा आउने चर्चा छ । यो मितिमा सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो श्रृंखला पनि आउने बलियो सम्भावना देखिएको छ ।
आइतवार फिल्म ‘सेन्टी भाइरस’ को ९ दिने कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका निर्देशक तथा निर्माता रामबाबु गुरुङले ‘कबड्डी’ को चौथो पार्ट अर्को वर्षको दशैंमा प्रदर्शनमा आउनसक्ने संकेत गरे । ‘कबड्डी ४’ दशैंमा आउने रैछ है ? भन्ने पत्रकारको प्रश्नमा उनले कुटनीतिक जवाफ दिँदै भने- ‘आउँछ कि क्या हो ! दशैंमा जुन फिल्म आएनी आइहाल्छ नी ।’
नेपाली फिल्म क्षेत्रमा दीपकराज गिरी र रामबाबु गुरुङको समुहलाई शक्तिशाली टिम भनिन्छ । यी दुई टिमबीच फिल्मको कमाईलाई लिएर बेला बखतमा वार चलिरहेको हुन्छ । गएको केही हप्ताअघि ‘कबड्डी ३’ ले १८ करोड कमाएको निर्माताले दाबी गरेपछि दीपकराजले फिल्म र निर्माताको नाम उल्लेख नगरी फेसबुकमा स्टाटस लेखेर गलत डाटा नदिन आग्रह गरेका थिए ।
यसपछि दीपकराज गिरी र रामबाबु गुरुङ समुहबीच अघोषित शितयुद्ध चलेको छ । यही इगोमा रामबाबुले अर्को वर्षको दशैंको फूलपातीमा ‘छक्का पन्जा ४’ सँग भिड्न ‘कबड्डी ४’ ल्याउने तयारीमा रहेको बुझिएको छ । अहिले उनी फिल्मको स्क्रिप्टमा व्यस्त छन् । सम्भवतः आउँदो जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘कबड्डी ४’ पछि यो फिल्मको सिरिज नबन्ने बताइएको छ ।

प्रतिक्रिया