खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह

विदुर खबर २०७६ फागुन १८ गते ८:१५

नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रिमत भएको खबर आइसकेको छैन। खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना कोभिड–१९ बाट संक्रमित भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानबाट आएका यात्रुबाट कोरोना भाइरस संक्रमण भएपछि ती देशले इरानका सबै उडान बन्द गरेका छन्। स्थानीय सरकारहरूले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत नेपालीले बताए।

नेपाली दूतावास बहराइन र कुवेतले कोरोना भाइरसका सम्भावित लक्षणहरूको जानकारीसहित त्यहाँ कार्यरत नेपालीलाई त्यसबाट सतर्क रहन आग्रह गरेको छ। बहराइनस्थित दूतावासले सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भीडभाड हुने ठाउँमा सकभर नजान र जानैपरे अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। कोभिड–१९ का लक्षण देखापरे बहराइन स्वास्थ्य मन्त्रालयको टोल फ्री नम्बरमा सम्पर्क गरी आफ्नाबारेमा जानकारी दिन र स्वास्थ्यकर्मीले दिएको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ।

कुवेतस्थित नेपाली दूतावासले कोभिड–१९ का लक्षण देखापरे नआत्तिई तुरुन्तै चिकित्सकको परामर्श लिन र आकस्मिक सम्पर्कका लागि कुवेतको स्वास्थ्य मन्त्रालयमा खबर गर्न फोन नम्बरसहित सूचना जारी गरेको छ। उसले श्वासप्रश्वाससम्बन्धी बिरामीको सम्पर्कबाटै टाढै बस्नसमेत आग्रह गरेको छ।

उता, साउदी अरबले दुई साता मुस्लिमहरूको पवित्रस्थल मक्का र मदिना प्रवेशमा विदेशीलाई रोक लगाएको छ। खाडीमा क्षेत्रमा बैंक, सपिङ मल, हवाई सेवा, स्कुल, कलेज र सार्वजनिक कार्यक्रमहरू कोभिड–१९ का कारण प्रभावित भएका छन्। खाडी मुलुकमा १२ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ।
Advertisement

प्रतिक्रिया