नागढुंगा सुरुङमार्ग आयोजना: विस्फोटक पदार्थको टुंगो लागे छिट्टै सुरुङ खनिने

विदुर खबर २०७६ फागुन १८ गते ८:०८

नुवाकोट । नागढुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ।

Advertisement

आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंगी अड्डामा रहेको बताउँदै भन्नुभयो– ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ।’स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा पु¥याउने, महँगो भए रकममा विचार गर्ने भनी ठेकेदार पक्षलाई विश्वस्त पारेको थियो। तर, सेनाको उत्पादनमा उत्कृष्ट र गुणस्तर भएको आधार खोज्दै ठेकेदार पन्छिरहेको छ। सेना भने आफ्नै उत्पादन विकाउन लागिपरेको छ।

तर, नेपाली सेनाका प्रवक्ता रथी विज्ञानदेव पाण्डेले राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजनादेखि राष्ट्रिय गौरवका आयोजनाका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ आपूर्ति गर्ने जिम्मेवारी सेनाको रहेकाले नागढुंगा सुरुङमार्गका लागि आवश्यकताअनुसार विस्फोटक पदार्थ दिइने बताउनुभयो।उहाँले नागढुंगा सुरुङमार्गका लागि चाहिने विस्फोटक पदार्थका बारेमा बाहिर हल्ला भएजस्तो वास्तविकता नभएको बताउँदै भन्नुभयो– ‘शुरूमा ठेकेदार पक्षबाट मूल्य महँगो र विस्फोटक पदार्थ गुणस्तरको भएन भन्ने थियो। तर, अहिले त्यो लिन ठेकेदार पक्ष विश्वस्त भइसकेको छ।’

Advertisement

प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याइएको र सेनाले उत्पादन गरेको विस्फोटक पदार्थलाई फास्ट ट्र्याकमा लगी छुट्टाछुट्टै परीक्षण गरेर ठेकेदार पक्षलाई विश्वस्त पारी मूल्यसमेत घटाइएको छ। आयोजनाले तीन महिनाअघि सुरुङका लागि आवश्यक रहेको भन्दै ९ सय टन विस्फोटक पदार्थको फाइल उतारेर प्रक्रिया थालेको थियो।सेनाले सिभिल एक्सप्लोसिभमा आत्मनिर्भर हुने योजनाअनुरूप मकवानपुरको सुनाचुरी माई मुल्सन एक्स्प्लोसिभको वार्षिक २४ सय टन क्षमताको प्लान्ट निर्माण गरी उत्पादन शुरू गरिसकेको छ। यसले दैनिक १० देखि १४ टनसम्म उत्पादन दिइरहेको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिनुभयो।

ठेकेदार पक्षबाट प्रस्तुत कार्ययोजनाअनुसार आउने मेको अन्तिम वा जुनको पहिलो हप्ताभित्र सुरुङ खन्ने काम शुरू गर्ने योजना छ। राष्ट्रिय प्राथमिकता प्राप्त बहुचर्चित उक्त आयोजनाको गत कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो। जापान सरकारको ऋण सहयोगमा जापानी कम्पनी हाज्मा÷आन्दो जेभीले सुरुङमार्ग बनाइरहेको छ। ठेकेदार कम्पनीले ४२ महिनाअघि काम सक्ने गरी कार्ययोजना पेस गरी काम गरिरहेको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो।

Advertisement

प्रतिक्रिया