‘सेन्टी भाइरस’ हेर्न स्कुलदेखि सहकारीसम्मले गरे हलै बुक

विदुर खबर २०७६ फागुन १६ गते २१:०६
कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पहिलो पटक ठूलो पर्दामा स्क्रिन साझेदारी गरेको फिल्म ‘सेन्टी भाइरस’ ले  शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ ।
तीन दिने विकेन्डमा तीन करोडको हाराहारीमा व्यापार गरेको फिल्मको सोमबारबाट कमाईमा केही गिरावट आए पनि कमजोर भने छैन । रामबाबु गुरुङ निर्देशित फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यसकारण पनि दर्शकहरु रंगशाला निर्माणको सहयोगार्थ फिल्म हेर्न हल पुगिरहेका छन् । अहिले रंगशाला निर्माणमा सघाउन विद्यालयदेखि विभिन्न संघ संस्थाहरुले हल नै बुक गरेर फिल्म हेर्न थालेका छन् ।
आज बिहीवारका लागि राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुले फिल्मलाई उपलब्ध गराएका सोज प्रायः सोल्ड आउट भैसकेका छन् । फिल्म हेर्न हल नै बुक गरेर रंगशाला निर्माणमा हातेमालो गरेको भन्दै कलाकार सिताराम कट्टेलले धन्यवाद व्यक्त गरेका छन् ।
फिल्ममा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । श्रीमान्-श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा उत्पन्न हुने समस्यामा फिल्म केन्द्रित छ । कथावस्तु बलियो भए पनि प्रस्तुतीकरण फितलो हुँदा फिल्म उत्कृष्ट बन्न सकेको छैन । यद्यपि, केही पञ्चलाइन भने गजब छन् ।

प्रतिक्रिया