‘सरकार काण्डै काण्डले घेरियो’

विदुर खबर २०७६ फागुन १६ गते २०:४५

नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचारका विभिन्न काण्डहरुले घेरिएको बताएका छन्। उनले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइटवडी, न्यारोवडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारका काण्डहरुले घेरिएको बताए।

‘दुई तिहाई बहुमत नजिकको कम्युनिष्टको सरकार विभिन्न भ्रष्टाचार काण्डहरुले घेरिएको छ,’ शुक्रबार नेपाली कांग्रेस दैलेखको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री खड्काले भने, ‘सरकारले गरेका भ्रष्टाचारसँगै जनविरोधी कामहरुलाई कांग्रेसजनले जनतासम्म पुर्‍याउनुपर्छ।’ उनले पहिलो र दोस्रो जनजागरण अभियानका क्रममा सरकारका गलत क्रियाकलापहरुको भण्डाफोर गरिएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

महामन्त्री खड्काले वर्तमान सरकारले संस्थात र नीतिगत भ्रष्टाचार गरिरहेको आरोप पनि लगाए। उनले भ्रष्टाचार, कमिसनतन्त्र र घुसखोरीमा जोसुकै संलग्न भएपनि कानुनको कठघरामा उभिनुपर्ने बताए। उनले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको न्यायनिरुपण पूर्वाग्रही भएको बताए।

कांग्रेस महामन्त्री खड्काले सरकारले गरेका भ्रष्टाचारको कुरा सार्वजनिक हुने वित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नाम मुछिने गरेकोप्रति आश्चर्य व्यक्त गरे। ‘वाइटवडी घोटालाको विषयमा पहिलो पटक संसदमा पार्टी सभापतिलेनै कुरा उठाउनु भएको हो,’ उनले भने, ‘केन्द्रीय समिति, संसदीय समितिलेनै वर्तमान सरकारले गरिरहेको विभिन्न भ्रष्टाचारको भण्डाफोर गरिरहेका बेला सभापतिको नाम मुछिनु गम्भीर विषय हो।’

महामन्त्री खड्काले सरकारको गतिविधि, निर्णय र नीतिगत भ्रष्टाचारका कारणले जनतामा ठूलो निरासा छाएको बताए। उनले सरकारका कारण जनतामा देखिएको निरासाको खाल्डोलाई पूर्ति गर्ने जिम्मेवारी इतिहासले फेरि एक पटक कांग्रेसको काँधमा सुम्पिएको बताए।

प्रतिक्रिया