अवैध सुन बाँडेर लिएको अभियोगमा टिमुरेका प्रहरी निरीक्षकसहित १६ जना निलम्बन

विदुर खबर २०७६ फागुन १४ गते १९:५९

रसुवा । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन्।

अवैध रूपमा भित्रिएको सुन प्रहरीले बाँडेर लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत १६ जना प्रहरीलाई एकैसाथ निलम्बन गरेको हो । निलम्बन हुनेमा प्रहरी निरीक्षक नेपाल, प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ रहेका छन्।

त्यसैगरी प्रहरी जवान शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र हरिबहादुर श्रेष्ठ रहेका छन्। गत माघ ११ गते केरुङबाट आएको ना ६ ख ४९३२ कन्टेनरमा चेकजाँचको क्रममा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएर मासेको आरोप लगाइएको छ।

आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरू पदमा बहाल रहँदा आफ्नोविरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने देखिएकाले निलम्बन गरिएको जारी विज्ञप्तीमा उल्लेख छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३० बमोजिम प्रहरी कर्मचारीहरुलाई कार्यरत रहेको पदबाट निलम्बन गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा लेखेर पठाएको छ।

प्रतिक्रिया