जनप्रतिनिधिलाई के हरिद्वार के मलद्वार


पुरुषोत्तम लम्साल
एक जमाना थियो ब्यापारिक साम्राज्यवादको । व्यापारकै लागि बजार खोज्न पुगेका युनानीहरुले भारतवर्षभर कहर थोपरे । त्यसपछि भूगोलको साम्राज्यवाद उदय भयो । अलेक्जेण्डरले सकेसम्म दागा झरे तर कुटिल कौटिल्यसामू तिनको जोर चलेन । मौर्य वंशको डिजाइनर कौटिल्य उर्फ चाणक्यले अखण्ड भारतको जग हल्लन दिएनन् । त्यही भारतवर्षलाई पछि बेलायतीहरुले ब्रिटिश इण्डिया, इष्ट इण्डिया कम्पनीको रुपमा दास बनाएर सयौं वर्ष शासन गरे । लादी हुने गरी कज्याए । अमेरिकीहरुले अफ्रिकी महादेशबाट काला छाला भएका दास ओसारेर अमेरिका बनाए तर बेलायतीहरुले भारतीयहरुलाई भारतमै दास बनाएर बेलायती साम्राज्यवादको मोहर टल्काए । कति वर्ष भयो र भारत मुक्त भएको ? जम्माजम्मी ७३ वर्ष न भयो । त्यसअघि त भारत सेता छाला भएका बेलायती गभर्नरहरुको गुलाम न थियो ।
दास र गुलामको सन्दर्भ निकाल्नुको कारण छ । ‘प्राचीन भारत की यात्रा’ शीर्षकको पुस्तक भ्रमण गर्दा होस् वा ‘आधुनिक भारतका इतिहास’ अध्ययन गर्दा होस् विष्मित पार्ने एउटा स्थापित प्रवृत्ति भेटिन्छ । त्यो के भने जसै बेलायतीलाई भारतको कुनै भूगोलको सामन्त वा जमिन्दार वा पञ्चायतको मुखियालाई आफ्नो प्रभावमा पार्नपर्ने हुन्छ, टपक्कै टिपेर बेलायतको निमन्त्रणामा भ्रमणमा लैजान्छन् । त्यहाँको शान, सौकत र ऐशआरामको दुनिया गोचर गराउँछन् । सुरा र सुन्दरी मनपेट भरपेट उपलब्ध गराउँछन् । तामसको उनीहरुको आफ्नै व्याख्या छ । सात्विक भए आहार, बिहार र सयर गराउँछन् । वाककलामा पारंगत वक्तामार्फत सूचना जानकारी वा प्रवचन दिने योग पनि जुराइएको हुन्छ । उन्नत कला देखाउँछन् । शिल्पको व्याख्यान दिन्छन् । र, भ्रमणमा जानेलाई सभ्यता, संस्कृति, रहनसहनप्रति नतमस्तक बनाउँछन् । यो नतमस्तक भनेको फेरि टाउको उठाउन नसक्ने बनाउनु हो । हो, यो भ्रमणको कूटनीति अर्धदास उत्पादन गर्ने पुरानो राजनीतिक प्रक्रियाको एउटा हिस्सा हो । पूर्ण दास त हुकूम स्वीकार गरेपछि घोषणा गरिने न हो ।
यो प्रसंग निकाल्नुको पनि कारण छ । त्यो के भने मेरा धेरै समकक्षीमध्ये कोही कहिले चीनतिर टूरमा निस्कन्थे कोही भारतको शयरमा । प्रायोजक व्यवस्थापक चाँहि सबैको उस्तै, दूतावास । खायो ढिंडो हल्लियो हिंड्योको शैलीमा उनीहरु पटकपटक शयर गर्थे तर जसै फर्किएर आउँथे कम्तीमा दुई चारथान त्यस्ता सामाग्री प्रकाशन हुन्थे जहाँ सम्बन्धित देशको वाहवाही गाइएको हुन्थ्यो । विकासको सन्दर्भ उचालेर स्थानीय शासकको जयगान पनि गाइएको हुन्थ्यो । हप्तौं दिन नून खाए पछि नमक हरामी हुन भयो ? भएन । किनकि, त्यसपछिको चरणमा भारत जानेलाई ‘भारत यस्तो’ भन्दा पनि नपच्ने हुँदो रहेछ, चीन जानेलाई ‘चीन यस्तो’ भन्दा पनि अमिलो पानी आउने रहेछ । हो, यस्तै सिलसिलाले दास मनोवृत्ति जन्माउने रहेछ र अन्ततः व्यक्ति दास वा गुलाममा परिवर्तन हुने रहेछ ।
अब नुवाकोट सन्दर्भ
संघीयता कतिसम्म गतिछाडा भएको छ भने यसका तत्तत् संरचनाका जनप्रतिनिधि अरु अनुशासनमा त बाँधिएका छैनन् नै नैतिक अनुशासनमा पनि निर्घिणी देखिन्छन् । नत्र हेर्नुस् त एउटा जिल्लाको पुरै स्थानीय संरचनाका अनुहार कसरी एकैपटक भ्रमणमा निस्कन्छन् । भ्रमणको यो एकमुष्ठ अनुमति प्रदेश सरकारले दिएको हो ? केन्द्र सरकारले दिएको हो ? सम्बन्धित राजनीतिक पार्टीले दिएको हो ? कि तिमीहरु गतिछाडा हौ जे मनलाग्छ त्यही गर भनेको हो ? त्यसो भनेको हो भने त ठीकै भो ।
(माथि उल्लिखित अरु अनुशासन गत आर्थिक वर्षमा अख्तियारले सरकारलाई प्रसतुत गरेको प्रतिवेदनको अंशबाट लिइएको हो । यसभित्र आर्थिक अपारदर्शिता, घुस र कमिशन, भ्रष्टाचारलगायतका शीर्षकमा स्थानीय तहविरुद्ध बढ्दो उजुरी र असन्तोष समेटिएको छ ।)
क्रिकेट खेलाडी सन्दिप लामिछानेको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले एकपटक ‘एपिक’ ठट्टा गरे । आइपिएलमा लामिछानेको उदयपछि उनले भनेका थिए ‘नेपालीले चानस पायो भने गर्छ ।’ यसपाली नुवाकोटेले चानस पायो—गर्यो । जिल्ला समन्वय समितिदेखि नौ वटा गाउँपालिकाका अध्यक्ष र १० वटै गाउँपालिका उपाध्यक्ष एवम् भएको जम्मा दुईवटै नगरपालिकाका दुई मुख्य टाउकोले नै एकैवर्ष भारतवर्षमा विष्मयकारी भ्रमण गर्यो । एक जना दुई जना, एउटा दुई वटा होइन, ढिक्कै । स्वच्छ छवीका भनिएकाहरुलाई नै होलसेलमा भ्रमण गराएर एउटा विवाादित संस्थाले सबका सबलाई झुप्पै देखाइदियो । दुतावासले बलत्कार गरेर देखाइदियो, हाम्रा जनप्रतिनिधि चमत्कार ठान्दैं पक्तिबद्ध भएर भारतको भातमा रमाउन अभ्यस्त भए ।
भ्रमण कसले गरायो ? जिल्लामा भुकम्पपीडितलाई आर्थिक तथा प्राविधिक सहायता गर्ने भनेर चिनिएको संस्था युयोप्सले । त्यसको समन्वय, संयोजन कसले गर्यो ? भारतीय दुतावासले । युएनडिपीले हरिद्वार दर्शनार्थ नेपालबाट तीर्थयात्रीको रुपमा सबै स्थानीय निकायको जनप्रतिनिधि आफ्नै खर्चमा बोकेर त हिंडेन होला ।
२३ महिनाअघि शुरु भएको युनोप्स परियोजनाले नुवाकोटमा भूकम्प पीडितका लागि काम थालेको १५ महिना भयो । भारतले प्रदान गर्ने चानचुन १ अर्ब ६२ करोड अनुदान यो परियोजनाको लागत हो जसलाई राष्ट्रसंघीय एजेन्सीले सघाइरहेको छ । यो अनुदानले नुवाकोट (२३,०८८) र गोरखा (२९,९१२)को ५३ हजार घरधुरीलाई सम्बोधन गर्नपर्ने हुन्छ । यो त्यही परियोजना हो जसले स्थानीय र केन्द्रिय तहमा समन्वय गर्न नसकेको, कार्यबिवरण लुकाएको, तथ्यांकमा झेल गरेको र प्राविधिक सेवामा पनि न्यून गुणस्तर देखाएको उजुरी राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पुगेको थियो । उजुरी अरुले दिएको होइन प्राधिकरणअन्तर्गतकै जिल्ला आयोजना कार्यान्वयन इकाईले । उजुरी झारपातलाई दिएको होइन बैदेशिक सहायता समन्वय शाखा सिंहदरबारलाई ।
हो, सित्तैमा बोलाए भनेर शरम नै बन्धकी राखेर थोकमै भारत भ्रमणमा निस्कने हाम्रा जनप्रतिनिधिहरुलाई शयर गराउने त्यही संस्था हो जसले भुकम्पपीडितको घरमै नपुगी नापनक्सा बनाएको बिवरण सिंहदरबारको कम्युटरबाट सार्वजनिक भएको थियो । त्यो त्यही संस्था थियो जसको अपारदर्शिता र असक्षमताबारे समाचार सार्वजनिक हुँदा जिल्लास्थित केही संचारकर्मीसँग तँ तँ म म भएको थियो ।
तर दुतावासले नै भारतको भुईचालोपछिको निर्माणको दृष्यावलोकन गराइदिने भनेर हाम्रा जनप्रतिनिधि लुरुलुरु पछि लागे । भ्रमणमा जानेमध्ये केहीले त अब भुकम्पपछिको भारतको पुनःनिर्माण भनेर पुस्तक नै निकाल्लान् । पुनःनिर्माणका ठूला ठूला परियोजना दर्शन गरेर आएपछि आफ्ना गाउँका मतदातासँग अनुभव पनि बाँड्लान् । सम्बन्धित प्रदेशलाई भ्रमणको उपलब्धी जानकारी गराउलान् र पार्टीको वैठकमा उपलब्धीका बुँदा पनि राख्लान् । कि दुतावासको फोकटको भात बजाएर हरिद्वारमा घन्ट हल्लाएर आएँ भन्लान् ? यो गम्भीर प्रश्न हो । लौ न त, एकबारको जुनीमा सित्तैमा हरिद्वार दर्शन गर्नु पनि पुण्य कमाउनु नै हो भने ठीकै छ । नत्र फोकटमा लैजान्छु भन्यो भने नरक पनि तीन फकन्को लाउन तयार हुने प्रवृत्ति अतिसार हुन्छ । अरुले दियो भने वा उधारो पायो भने अलकत्रा खाएर मट्टितेलले कुल्ला गर्ने प्रवृत्ति अतिसार हुन्छ ।
उहिले राजा मरेर राज्य अड्कदैन भन्थे । अहिले पनि जनप्रतिनिधि हप्ता दश दिन, एक वर्ष भ्रमणमा निस्कँदा गाउँ नै सोत्तर हुने, सर्वस्व बिग्रने होइन । बिग्र्रिएको पनि छैन । तर उनीहरु लिखितम् बेतलवी बिदा लिएर साहसिक यात्रामा निस्केका हैनन्, अहो भन्नलायक संस्थाको अगुवाईमा अहो भन्नलायकको स्थान र सन्दर्भमा सहभागिता, अवलोकन र अन्तक्रिया गरेका पनि होइनन् ।
आफ्नो मर्म र धर्म नै बन्धकी राखेर परिवर्तकारी भ्रमण गरेका जनप्रतिनिधिहरुले भारतमा भूकम्पपछि भएको पुनःनिर्माणको किस्सा अब बाँड्लान् नि । हामीले सुन्न बाँकि नै छ । जसले भ्रमणको प्रयोजन व्यवस्थापन गरेको हो त्यसले परियोजना कार्यान्वयनमा गरेका त्रुटी र ढकछोपलाई हाम्रा जनप्रतिनिधिले अब खोल्लान् कि छोप्लान् ? तत्तत् निकायले हरिद्वार भ्रमणको ऋण चुकाउन छाडेर परियोजनाको ठोस अनुगमन गर्लान् ? कि, हाम्रा जनप्रतिनिधि अर्धदासको उपनिवेशकालीन भारतीय चित्रकै प्रतिलिपी भएर बस्लान् ?
पुरुषोतम लम्सालको फेसबुकबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया