रसुवागढी नाकामा जोखिम मोलेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

विदुर खबर २०७६ फागुन ६ गते ८:५८

रसुवा ।  चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल र चीनबीच सञ्चालनमा रहेको रसुवागढी नाका अहिले सुनसान छ।

नाकामा सवारी तथा मानिसको आवतजावत छैन। नाकामा रहेका पसलमा ग्राहक भेटिँदैनन्। भन्सार, अध्यागमन तथा क्वारेन्टाइन कार्यालय खोलिए पनि कर्मचारी मात्रै भेटिन्छन्। चीनको केरुङमा सामग्री लिन जान लागेका सीमित कन्टेनर सडकमा भेटिन्छन्। भन्सार यार्डमा कुनै गाडी छैनन्। रसुवागढी नाकामै एउटा सानो टहरा छ। टहरामा दुईजना स्वास्थ्यकर्मी छन्। माथिबाट ढुंगा झरिरहन्छ। माथिबाट आएको ढुंगाले विश्रामस्थलको छानामा क्षति पु-याइसकेको छ।

नाकामा सवारीसाधन तथा मानिसको आवतजावत बन्द गरिएको भए पनि केरुङमा रहेका नेपाली फर्कने क्रम रोकिएको छैन। दैनिक चारपाँचजना नेपाली नेपाल आइरहेका हुन्छन्। जोखिमयुक्त टहरामा केरुङबाट आएका तथा केरुङ जाने विदेशी तथा नेपालीको स्वास्थ्य जाँच भइरहेको छ। माथिबाट ढुंगा झरेको बेलामा जाँच गर्दागर्दै दौडिनुपर्ने अवस्था रहेको हेल्थ डेक्समा रहेकी स्टाफ नर्स सिम्रन पाण्डेले बताइन्।

अस्थायी भवन निर्माण गरिने
कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेक्स रहेको स्थानमा अस्थायी भवन निर्माण गरिने भएको छ। चीनले सवारी तथा मानिसको आवतजावत खुला गर्न इच्छा देखाएको छ। तर, नेपालतर्फ स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नसक्दा खुला गर्न समस्या भएपछि पूर्वाधार विकास गरेर आवतजावत खुला गर्ने नेपाली पक्षको तयारी छ। चीन जान लागेका तथा चीनबाट नेपाल आउने नेपाली तथा विदेशीका लागि स्वास्थ्य परीक्षण गर्न भवन तथा आवश्यक सामग्रीको अभाव छ। दुईवटा कोठा र एउटा हलसहितको भवन निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। माथिबाट ढुंगा झरिरहने भएकाले माथि जाली राखेर ढुंगा रोक्ने कार्य गरिने उनको भनाइ छ। स्वास्थ्य जाँचका लागि नाकामै बस्नुपर्ने र जोखिमलाई ध्यानमा राखी चीनतर्फ जसरी नै जाली लगाउने काम गरिने बताइएको छ।

सामाजिक विकासमन्त्रीले गरे अवलोकन
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आइतबार नाकास्थित हेल्थ डेक्सको निरीक्षण गरेका छन्। सो हेल्थ डेक्सलाई व्यवस्थित गर्न भवन निर्माण आवश्यक रहेको भन्दै मन्त्रालयले अस्थायी भवन निर्माणका लागि बजेट उपलब्ध गराउने बताएका छन्। नाकामा कोरोना भाइरस र अन्य सरुवा रोगको जोखिम हुनसक्ने बताउँदै मन्त्री दुलालले नागरिकको स्वास्थ्य सुरक्षाका लागि मन्त्रालय गम्भीर भएको बताए। संरचना निर्माण गर्ने, आवश्यक स्वास्थ्यकर्मी राख्ने र आवश्यक सामग्री राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न सकिने अवस्थामा पु-याइने उनको भनाइ थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अति संवेदनशील क्षेत्र मानिएको रसुवागढीमा क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको छ। मन्त्री दुलालसहित राजनीतिक दलका नेता, सरोकारवालाले यसको निर्माणका लागि निर्माणस्थलको अवलोकन गरेका थिए।

प्रतिक्रिया