छैठौं नुवाकोट महोत्सव: रमिता र रत्यौलीमा सीमित

विदुर खबर २०७६ फागुन ४ गते २१:१७

नुवाकोट महोत्सवको बारेमा जति लेखे पनि ‘के जाती जनावरको पुच्छर ढुंग्रोमा राखेको’ जस्तै हो, त्यसैले लेखिन वा लेख्न मन लागेन । दशकदेखि एउटै गुनासो, आग्रह, कचकच सबैसँग के गर्नु भन्ने लाग्यो ।

Advertisement

२ वर्षमा खोलो त फर्कन्छ भन्थे तर महोत्सवको खोलो आज पनि उही गतिमा छ । दिशामा छ । अनि के लेख्नु ? आयोजकको अनुहार मात्र फरक भएर नहुने रहेछ भन्ने यकीन भइसकेपछि आग्रह पूर्वाग्रह पालेको आरोपबाट बच्न पनि नलेख्नु ठीक लाग्यो ।

महोत्सव सधैं चटकै भयो । रमितै भयो । अर्को वर्ष पनि त्यही हुने हो भन्ने यकीन आजै हुने स्थिति छ । र, यो चटकलाई उति धेरै महत्व दिनपर्छ भन्ने पनि लागेन । लाग्दैन । हिजो अरुले कम्मर भाँचेका थिए आज ताराबहादुर कार्की नाचे वा बहादुर लामाले ह्याण्ड वेभ गरे भनेर के लेख्नु ? पढ्नेले पनि के शिक्षा पाउन् ? त्यसैले लेखिएन । प्रदर्शनी वा हाटबजार भनिदिएको भए त्यसको गरिमामा रहेर लेख्न मज्जा आउँथ्यो तर उत्सवहरुको पनि उत्सव महोत्सव भनेर केलाई मान्नु वा मानिदिनु ? त्यसैले नो कमेन्ट !

Advertisement

मनोज गजुरेलको कमेडी र कमला घिमिरेको दोहोरी (यो वर्ष) ले जिल्लाको उद्योग, वाणिज्य र पर्यटनमा नयाँ उत्साह भरिन्छ भन्ने तत्वलाई हामीले लेखेर हुने केही होइन । हामी जमानादेखि उद्योग वाणिज्यको नेतृत्व यस्तै तामसहरुलाई हस्तान्तरण गर्दै आईरहेका छौं भने आज फेरि के लेख्ने ? किन लेख्ने ? हामी हाटबजारमा रमाउने सँस्कृतिमा हुर्किएका हौं र पछिल्लो दश वर्षदेखि नुवाकोट महोत्सव त्यही हाटबजारको निरन्तरता मात्र रहँदै आएको छ भने लेखेर वा बोलेर हुनेवाला केही छैन ।

रत्यौली र रमितामा खासै अन्तर हुन्न, कलाकार मात्र लोकल कि विकासे भन्ने हो । हामी एकाध दर्जन कलाकार थुपारेर, उफारेर जिल्ला महोत्सव हुन्छ भन्ने भ्रममा दशकदेखि बाँचिआएका छौं । मजाक गर्नु, तरुनीको छाती र नितम्ब हल्लाउनु नै महोत्सव हो भन्ने भ्रममा छौं । त्यसैले यस्ता कुरा मलाई हिजो पनि जँचेन, आज पनि जँच्दैन । त्यसैले लेखिन ।

Advertisement

महोत्सव आम जिल्लावासीको जस्तै मेरो पनि नियमित चासो र सरोकारको विषय बनाउन आयोजकले हिजो पनि सकेका थिएनन् र आज पनि सकेका छैनन् । घरेलु उत्पादक शक्तिसँग अन्तक्रिया नहुने, स्थानीय उत्पादक बर्गसँग सामूहिक नीतिकगत बहस नहुने, समग्र उद्योगी व्यवसायीसँग नीति, कार्यक्रम र योजनाबारे छलफलै नहुने मजाकलाई महोत्सव मान्नु ? म हिजो जस्तै आज पनि तयार छैन ।

महोत्सवमा घरेलु उद्योगको बजारीकरण र निर्यातको सम्भावनाबारे कसैले साँच्चै व्यवस्थित छलफल गरेर एउटा निश्कर्ष निकालेको भए त्यसको जानकारी राख्न नसकेकोमा मैले क्षमा माग्नपर्छ । औद्योगिक व्यापारिक कार्यशाला वा गोष्ठी भएर त्यसको निश्कर्ष क्रियान्वयनमा आयोजक लाग्न प्रतिवद्ध भए पो ‘अहो ! यो चैं उधूम् भयो’ भनेर लेख्नु ।

औद्योगिकीकरण र प्रादेशिक बजार सम्बन्धमा जिल्लालाई केन्द्रमा राखेर स्थानीय एवम् राष्ट्रिय विज्ञहरुलाई आयोजकले एउटै मञ्चमा राखेर केही प्रयास गरेको भए जानकारी नभएर छुटेछु भनेर मैले माफी माग्न पर्ने हुन्छ ।

महोत्सवलाई हामीले हाम्रो उद्योग र बजारको समीक्षास्थल बनाउन सक्दैनौ ? महोत्सवलाई हामी स्थानीय लगानीकर्ता र लगानीका सम्भावित क्षेत्र जोडेर आवधिक बहसमा लैजान सक्दैनौ ? महोत्सवलाई हामी किसान र व्यवसायीका मुद्दा सुन्ने र तिनका निश्कर्ष संकलन गरेर नीतिगत पहलकदमीमा लैजान सक्दैनौ ? म यो पाटोबाट सोच्छु। तपाई गाउँघरबाट जिल्ला सदरमुकाममा जात्रा हेर्न आउने टाउका जोडेर यो अदभुत पर्यटनबारे केही लेख्न भन्नुहुन्छ। अनि कसरी कुरो मिल्छ ?

महोत्सवको अवसर पारेर जिल्लाको पूर्वाधार र लगानीको विषयमा कहाँ कसरी आयोजकले औचित्यपूर्ण छलफल गरेछन् ? कि म छुटेछु ? म छुटेको होइन भने महोत्सव नामका ठट्टाहरुमा लेखेन भनेर चित्त नदुखाए हुन्छ ।

स्थानीय रुपमा औद्योगिक, व्यवसायिक, व्यापारिक सवालमा बहस र अन्तक्रिया नहुने, विद्यमान समस्याको हल नखोज्ने रमितालाई महोत्सव मानिदिनपर्ने बाध्यता मलाई छैन । त्यसैले सस्तो मनोरञ्जनको विषयमा केही लेख्न आइन्दा तपाईले पनि आग्रह गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।
महोत्सवलाई प्रदर्शनी स्थल भनिदिएको भए लेख्न सजिलो हुन्थ्यो । रमितास्थल भनिदिए लेख्न सजिलो हुन्थ्यो । किनकि, चारआना आठआनाका हँसीमजाक गर्न मलाई मलाई रमाइलै लाग्छ । दिनका गोडाआठै कलाकार थुपारेर महोत्सव हुन्छ भनेर मेरो मनले कहिल्यै मानेन । त्यसैले लेखिन ।

कि यो पाली आयोजकले ग्रामीण र शहरीया किसान एउटै थलोमा रोखर अन्तक्रिया गरे ? र, उनीहरुलाई उद्योग र वाणिज्यको दायरामा ल्याउन भूमिका खेले हौ ? त्यसो गरेको भए म अपडेट भइनछु भनेर माफी माग्न पाए म कति खुसी हुन्थें । कि महोत्सव डिबेट फोरम भएरै मैले थाहा पाइन हँ ? यसअघिजस्तै महोत्सवले घोष्णापत्रै निकालेर थाहा नपाउने अवस्थामा त म पुगेको होइन ? होइन । आफैंलाई चिमटेर हेर्दा मैले थाहा पाएँ । म महोत्सवजस्तो निर्जिव छैन भन्ने प्रमाण फेला पारें ।

अतः रमिता र रत्यौलीमा सीमित हुने, रमाउने ठट्टालाई महोत्सव मान्न हिजो जस्तै आज पनि मेरो ब्रम्ह तयार छैन । मुला, केरा र फर्सी देखाउनु प्रदर्शनी हो, कलाकार भेला गर्नु मनोरञ्जन हो । पहिलो महोत्सवमै “उत्सव कि महोत्सव?” शीर्षकमा लेखेको सामाग्री झल्झली याद आउँछ, अझ अहिले त त्यो भन्दा पनि गुज्रेको नेतृत्व छ । त्यसैले मेरो ध्यान त्यता उति जाँदैन । त्यसैले सायद अब आउने थुप्रै वर्षसम्म नुवाकोट महोत्सव भनेर लेख्न नपर्ने झण्झटबाट म पर छु । लेखिन र लेख्दिन ।

ग्रामीण किसान भेला गरेर अन्तक्रिया होस्, स्थानीय तहले तिनीहरुको कुरा सुनेर अनुकूल कार्यक्रम तयार गर्न सकून्, जिल्लाको ग्रामीण एवम् मझौला र साना उद्योगीहबीच वाणिज्य संघले सेतुको भूमिका निभाओस्, शहरीया र ग्रामीण उत्पादक शक्तिलाई सम्पर्कमा ल्याउन संघले आफ्नो भूमिका देखाओस् भन्ने कुरा हिजो जस्तै आज पनि एकादेशकै कथा बनिरहेको बेला के लेख्नु ? कसलाई लेख्नु ? किन लेख्नु ? हामी घरेलु मदिरा र सिलबन्दी मदिारमा रमाउने संघको जयगान गाउँन अभ्यस्त भएकाले यी उत्सव महोत्सव बारे नलेखौं होला ।

जिल्लाको आयात र निर्यातको सही र ठोस् तथ्यांक निकाल्न नसक्ने उद्योगी व्यवसायीको छाता सगठनले हाट बजारको शैलीमा रमाइलो गर्दैमा महोत्सव नै मान्नपर्छ भन्ने हुँदैन । दर्शक र कलाकार कम होलान्, खरानीटारमा, वा ककनीमा वा दुईपीपलमा आयोजना गरेमा पनि जाने किसान र देखाउने वस्तु एकै हुन् भन्ने थाहा छँदैछ ।

गोरखाबाट आयात गरिएका एकजना पात्र जो पृथ्वीनारायण शाहको रुप धारण भएको लत्ताकपडा लगाएर प्रदर्शनीमा सेल्फी सेलिब्रेटी भए । तिनैमार्फत जिल्लाको इतिहास देखाउनेछौं भनेर महोत्सवको जयगान गाउने आयोजक नेतृत्वबाट त्यो भन्दा बढी अपेक्षा गर्न हुँदैन र सकिन्न । समाज र इतिहासको त्यति धेरै प्रदर्शनी भइसकेपछि देशका लब्धप्रतिष्ठित उद्योगपति र लगानीकर्ता आएर जिल्लामा सम्भावनाको उत्खनन गर्ने र त्यसपछि लगानीको वातावरण भन्छ भनिदिनु ?

प्रतिक्रिया