प्रसारण लाइन तलको जग्गाको पूरै मुआब्जा दिइने, उर्जा मन्त्रालयले कार्यविधि बनायो

विदुर खबर २०७६ माघ २८ गते १६:५२

नुवाकोट ।  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत प्रसारण लाइनभन्दा तलको जमिनको पनि सरकारले पूर्ण मुआब्जा दिने तयारी गरेको बताएका छन्।

Advertisement

मन्त्री पुनले आगामी पाँच वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको भन्दै विद्युत वितरणका लागि प्रसारण लाइन निर्माणको काम पनि तीव्रताका साथ अघि बढेको बताए। ‘अबदेखि प्रसारण लाइनको मुनि परेको जग्गाको पनि मुआब्जा दिने गरी कार्यविधि तयार भएको छ,’ नुवाकोटको तुप्चेमा दिवंगत तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पुनले भने।

यसअघि सरकारले प्रसारण लाइनको जग्गामा आंशिक मात्र मुआब्जा दिने गरेको थियो । उनले वर्तमान सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत रहेकामा पछिल्लो दुई वर्षमा ४ सय मेगावाट थपिएर कूल जडित क्षमता १३ सय मेगावाट पुगेको उल्लेख गरे। उनका अनुसार चालु आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित १ हजार मेगावाट विद्युत केन्द्रीय प्रसारणमा थपिनेछ।

Advertisement

‘यो वर्षबाट हामी विद्युतमा आत्मनिर्भर हुँदैछौं,’ उनले भने, ‘हामीले वार्षिक १८ अर्बको बिजुली छिमेकी मुलुकबाट आयात गरिरहेका छौं, यही वर्षदेखि आयात प्रतिस्थापन गर्दैछौं ।’ मन्त्री पुनले रसुवा र नुवाकोटमा धेरै विद्युत आयोजना निर्माण भएको र कतिपय निर्माणको चरणमा रहेको चर्चा गर्दै त्यहाँका जनता विकासमैत्री रहेको बताए।

प्रतिक्रिया