भारत भ्रमणबारे प्रधानमन्त्री ओलीको पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श

विदुर खबर २०७४ चैत २१ गते ९:००

काठमाडौँ — दुई दिनपछि हुने भारत भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बुधबार बिहान पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 भेटमा प्रधानमन्त्रीले भारत भ्रमणमा राख्नुपर्ने एजेन्डालगायतका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिएका थिए।

प्रधानमन्त्रीसँगको परामर्शमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए। साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी सदस्यहरु भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यायलगायतका परराष्ट्रविद्हरु पनि सहभागी थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओलीले चैत २३ देखि तीन दिने भारत भ्रमणमा नयाँदिल्ली जाँदैछन्। भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन्।
प्रधानमन्त्रीले भ्रमणबारे संघीय संसदका दुवै सदनलाई मंगलबार नै जानकारी गराइसकेका छन्।
भारत भ्रमणबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक पनि बुधबार दिउँसो ३ बजे बोलाइएको छ। संसद बैठक लम्बिएकाले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो।
Advertisement

प्रतिक्रिया