नेकपाको केन्द्रीय बैठक भोलिदेखि

विदुर खबर २०७६ माघ १४ गते ८:१३
पार्टी एकीकरण भएको झन्डै दुई वर्षपछि नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कमिटीको बैठक यही माघ १५ देखि २० गतेसम्मका लागि बोलाइएको छ। पार्टीभित्रको आन्तरिक विवादका कारण केन्द्रीय कमिटीको बैठक लम्बिँदै आएको थियो। पार्टीभित्र केन्द्रीय सदस्यहरूले पार्टीलाई विधिमा सञ्चालन गर्न महत्वपूर्ण निर्णय केन्द्रीय कमिटीबाट गराउनुपर्ने माग गरेपछि पार्टी नेतृत्व केन्द्रीय समितिको बैठक बोलाउन तयार भएको हो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  भन्नुभयो– ‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकले परिमार्जनसहित पारित गर्नेछ।’ पार्टी एकीकरण हुँदा ४४१ सदस्यीय रहेको नेकपाको केन्द्रीय कमिटीमा एकता प्रक्रियाबाट आउने नेताहरूलाई थपेर ४४५ सदस्यीय बनाइएको छ। पार्टी ठूलो भएसँगै नेकपालाई केन्द्रीय बैठक सञ्चालन गर्न पार्टी कार्यालय साँघुरो भएको छ। किनकि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा अटाउने सभा हल छैन्।
प्रवक्ता श्रेष्ठले भन्नुभयो– ‘पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरूको बैठक बोलाउन ठाउँ साँघुरो भएकाले राष्ट्रिय सभागृहमा बोलाइएको छ।’उक्त बैठकमा सरकारको समीक्षा, एकीकरणपछिको अवस्था र बहुचर्चित अनुदान सहायता सम्झौतापत्र (एमसीसी) का विषयमा छलफल हुने बताइएको छ। यसैबीच नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा तथा शपथ ग्रहण समारोहमा कार्यकारी अध्यक्ष प्रचण्डले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताउनुभएको थियो।

प्रतिक्रिया