पुनर्निर्माणको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

विदुर खबर २०७४ चैत १९ गते २:२५

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिए ।

Advertisement

पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । ‘पुनर्निर्माणको काम धिमा गतिमा भयो, यसलाई गति दिनुपर्छ ।’

पीडितले मापदण्ड नपुर्‍याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको उनले बताए । ‘भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन’ उनले भने, ‘घर बनाएकालाई अनुदान दिनुपर्छ ।’

Advertisement

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत -सीईओ) युवराज भुसालले पुनर्निर्माणको अध्यावधिक प्रतिवेदन पेश गरेका थिए । पुनर्निर्माणको प्रगति सन्तोषजनक भएपनि प्रधानमन्त्रीले गति बढाउन निर्देशन दिएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले पहिलादेखि बसोबास गरिआएका तर, जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘त्यस्ता स्वबासीहरु अनुचित ढंगले बसेका होइनन् भने धनीपूर्जा नभए पनि अनुदानको रकम उपलब्ध गराउनु पर्छ’ उनले भने, ‘ऐन कानुनले केही अफ्ठ्यारो पार्छ भन्ने सच्याएर अरुले पाए सरह सुबिधा दिने पर्छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले सिंहदरबारको मुल भवन भइरहेको रेट्रो फिटिङप्रति पनि असन्तुष्टि जनाए ।

‘विश्व विद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन’ उनले भने, ‘रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ म आफैं हेर्न चाहन्छु । त्यहाँ नहुनु पर्ने काम भइरहेको छ ।’

आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेको भन्दै उनले त्यसलाई निरन्तरता दिइने बताएका छन् ।

प्रधानमन्त्रीले पुरातात्विक संरचनाहरु उस्तै देखिने तर बलियो बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया