केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको अस्तित्व संकटमा : मुख्यमन्त्री पौडेल

विदुर खबर २०७६ माघ ४ गते ८:४८

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गर्दा अस्तित्व नै संकटमा पर्दै गएको आरोप लगाएका छन् ।

Advertisement

संघीय संंसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आयोजनामा वाग्मती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार बाट सुरु भएको “विकास र समृद्धिमा अन्तरतह समन्वय” विषयक दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले दिएको अधिकारमा पनि केन्द्र सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाएका हुन् । संविधानले प्रदेशलाई दिएका अधिकारमा केन्द्र सरकारले हस्तक्षेप गरेर प्रदेश नै चाहिदैन जस्तो व्यवहार गरिरहेको मुख्यमन्त्री पौडेलले बताए । उनले हरेक काममा केन्द्र सरकारले जिल्लाजिल्लामा आफ्नै संरचना बनाएर प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरिरहेको उल्लेख गरे ।

अहिले पनि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल नमिलेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले कुन तहले के काम गर्ने भन्ने नै एकिन हुन सकेको छैन । यसले गर्दा तीन तहको सरकारको काम नदेखिएको उनले बताए । संविधानले दिएको अधिकार अनुसार तीनै तहले स्वतन्त्रपूर्वक काम गर्न र एकअर्काप्रति जिम्मेवार भएमात्रै विकासले फड्को मार्न सक्ने पौडेलको भनाइ छ ।

Advertisement

केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई दिएको अधिकारमा हस्तक्षेप गरिरहने र आफै काम गर्ने हो भने संघीयताको कुनै अर्थ नरहने उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले भने–‘केन्द्र सरकारले अहिले गरिरहेको व्यवहार प्रदेशलाई गर्ने हो भने यसको कुनै अस्थित्व रहदैन । केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई विश्वास गर्न सक्नुपर्छ । संघीयता कार्यान्वयनमा केन्द्रले अभिभाकत्वको भुमिका निर्वाह गर्नु आवश्यक छ ।’

प्रदेश, केन्द्र र स्थानीय तहबीच समन्वय नहुँदा वाग्मती सरकारले पनि सोचे अनुरुप काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले स्विकार गरे । केन्द्रको हस्तक्षेपका कारण चाहेर पनि प्रदेशले काम गर्न नसकेको उनको आरोप छ । उनले अहिले पनि फाइल टेबल मुनी राख्ने र काम गर्न खोज्दा माथिबाट घाँटी समात्ने काम भइरहेको गुनासो गरे ।

Advertisement

प्रतिनिधिसभाका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले योजनाहरुमा तनिै तहले समन्वय गरेर काम गर्नुपर्ने बताए । समन्वय नहुँदा काममा समस्या आइरहेको उनले उल्लेख गरे । बिना विवाद संघीयता कार्यान्वयन गर्नुपर्ने भन्दै उनले संघीय सरकारले ठूला योजना निर्माण गर्नुपर्ने र प्रदेश र स्थानीय तहले साना खालका योजना निर्माण गर्नुपर्ने बताए ।

संघीय सांसदको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काको अध्यक्षतामा दुई दिनसम्म हेटौँडामा हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फूँयाल, प्रदेश अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, प्रदेश मामिला विकास समितिका सभापति माधव पौडेल लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तर सरकारी वित्त परिषद्का सदस्य डाक्टर खिमलाल देवकोटाले विकासमा अन्तरतह समन्वय संवैधानिक तथा कानूनी आधार र वित्तिय अवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया