नेप्से १३०० विन्दु माथि

विदुर खबर २०७६ माघ २ गते १७:४५

साढे ७ महिनापछि नेप्से परिसूचकले एक हजार ३०० विन्दुलाई पार गरेको छ। साताको अन्तिम कारोबार दिन नेप्से २.०२ प्रतिशत अर्थात २६ अंक बढेर एक हजार ३१०.२३ विन्दुमा पुगेको हो।

Advertisement

पछिल्लो समय नेप्सेमा दिनानुदिन सुधार हुँदै गएसँगै सो विन्दु पार गर्न सफल भएको हो। यस दिन कारोबार खुलेको पहिलो १५ मिनेटमा नै सो विन्दुलाई पार गरेको थियो। तर, बिक्रीकर्ता हाबी भएपछि नेप्से ओरालो लागेको थियो। बजारमा पुनः खरिदकर्ताहरु बढेपछि नेप्सेले सो विन्दुलाई पार गर्न सफल भएको हो।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन १६१ कम्पनीको १७ हजार २९५ पटकको कारोबारमा १ अर्ब ६९ लाख ९९ हजार रुपैयाँ बराबरको ५० लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Advertisement

वित्तीय क्षेत्रमा तरलता शेयरबजारमा दैनिक कारोबार रकम पनि बढेको छ। दोस्रो बजारमा औषत कारोबार रकम ४३ प्रतिशत बढेको छ। केही समय अघिसम्म दैनिक औषत ४७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भइरहेको बजारमा अहिले ८४ करोडभन्दा बढीको औषत कारोबार हुन थालेको छ।

बजारको कारोबार रकम बढेपनि ठूला लगानीकर्ताहरु अझै बजार प्रवेश नगरेको ब्रोकरहरु बताउँछन्। अहिलेको बजारलाई साना तथा केही नयाँ लगानीकर्ताहरु धानीरहेको उनीहरुको भनाइ छ। ठूला लगानीकर्ताहरु प्रवेश गरे कारोबार रकम अझै बढ्ने उनीहरुले बताए।

Advertisement

प्रतिक्रिया