संसद् बैठकमा मोबाइल चलाउन पाइने, ध्वनि प्रदूषण गर्न नपाइने

विदुर खबर २०७४ चैत १५ गते २:२५

काठमाडौं, १५ चैत— प्रतिनिधिसभा बैठकमा मोबाइल चलाउन पाइने, तर फोन गर्न नपाइने गरी प्रतिनिधिसभा नियमावली खुकुलो बनाइने भएको छ । अघिल्लो नियमावलीले बैठक कक्षमा मोबाइल फोन वा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न बन्देज गरेको थियो ।
‘बैठकमा कुनै विषयमा बोल्दा, मोबाइलमा सन्दर्भ सामग्री अध्ययन गर्दा पनि मिडियाको निसानामा पर्न थालेपछि फोन गर्नेबाहेक हेर्न पाउने व्यवस्थामा सहमति जुटेको छ,’ मस्यौदा समितिका एक सदस्यले भने, ‘मोबाइल चलाउनेबित्तिकै फेसबुक मात्रै त चलाइँदैन नि । अध्ययनमा पनि प्रयोग हुन्छ । बैठकमा उठेका विषय टिपोट गर्न पनि प्रयोग हुन सक्छ ।’
नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले बैठक कक्षमा मोबाइल प्रतिबन्ध गर्न नसकिने भएकाले ध्वनि प्रदूषण हुने गरी चलाउन नपाउने नियम बनाउन लागिएको बताए । प्रतिनिधिसभाका सांसदले पालना गर्नुपर्ने अन्य नियमलाई पनि पहिलेभन्दा खुकुलो बनाउन लागिएको छ ।
नियमावली मस्यौदा समितिको बैठकले आचरणविपरीत काम गर्ने सांसदलाई दिने सजायसमेत घटाउने प्रस्ताव गरिएको छ । बैठकमा अभद्र व्यवहार गर्ने सांसदलाई बढीमा १० दिनसम्म निलम्बन गर्ने मस्यौदा समितिका सदस्यहरूबीच सहमति भएको छ । यसअघि १५ दिन थियो ।
बैठकमा विचाराधीन रहेका प्रस्तावलाई निर्णायार्थ पेस गर्दा सांसदहरू तटस्थ बस्न पनि पाउने व्यवस्था गरिने भएको छ ।
बैठकमा शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले तीन दिनभित्र लिखित वा मौखिक जवाफ दिनुपर्ने नियमावलीमा व्यवस्था गरिने भएको छ ।
प्रधानमन्त्रीसँग सम्बन्धित विषयमा महिनामा दुई पटक प्रश्नोत्तर गर्न सकिनेछ ।, कान्तिपुरमा खबर छ ।

Advertisement

प्रतिक्रिया