बोक्सी भनेर कुटिएकी राधा : घर फर्किएर ११ कक्षाको परीक्षा दिने चाहना

विदुर खबर २०७४ चैत १४ गते ५:१९

धनगढी, १४ चैत– ‘शरीरमा लागेको चोट औषधिले निको हुन्छ, तर मान्छेको मन र चरित्रमा लागेको चोट रुपी दाग कुनै औषधिले हुदैन । जसको काउन्सिलिङ नै उत्तम औषधि हो, उनको भित्रि घाउहरुमा मलहम लगाउने प्रयत्नमा हामी छौं’ ओरेक कैलालीकी मनोविमर्शकर्ता चन्द्रकली चौधरीले भनिन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षिया राधा चौधरी फागुन २४ गते बोक्सी आरोपमा निर्घात रुपमा कुटिए पछि शारीरिक र मानसिक रुपमा बिक्षिप्त भएकी थिइन् । कुटपिटले थलिएपछि उनलाई औषधोपचार पछि सेफ हाउसमा लगियो । जहाँ मनोविमर्शकर्ताहरु उनलाई पहिलेकै (सामान्य) अवस्थामा पुर्याउन काउन्सिलिङ (मनोपरामर्श)मा जुटेका छन् ।
‘पहिले–पहिले उनी मुर्छा पर्ने, पछि के होला भनेर एकोहोरो सोचिरहने, डराउने, रुने, सपनामा कराउने गर्थिन्’, मनोविमर्शकर्ता चन्द्रकलीले भनिन्, ‘आज भोलि उनमा गाउँ फर्केर केही गर्ने, पढ्ने अनि समाजमा केही गरेर देखाउने हिम्मत पलाउँदै गएको छ, खुलेर हाँस्न थालेकी छिन् ।’ राधा आफैले गाउँ जान चाहेमा मात्रै गाउँ फर्काउने ओरेकले जनाएको छ ।
राधा घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । यहि चैत १९ र २० गते उनको प्रयोगात्मक परीक्षा तोकिएको छ । जुन परीक्षामा उनले घरबाटै तयारी गरेर सहभागी हुने मनस्थिति समेत बनाएकी छिन् । ‘अब म घर जान चाहन्छु, घरबाटै तयारी गरेर परीक्षामा सहभागी हुन्छु, विद्यालयका सरहरुले पनि सहयोगको वातावरण मिलाइ दिने भन्नुभएको छ’, प्रशन्न हुँदै राधाले भनिन् ।

Advertisement

उता, देउकलियाका भल्मन्सा (थारु समुदायका मुखिया) राजाराम चौधरीले पनि गाउँमा बस्ने वातावरण मिलाउनमा आफूहरु तत्पर रहेको बताए । राधालाई सम्मानपूर्वक गाउँ फर्काउन चाहेको पनि उनको भनाई छ ।
आश्वासनको थुप्रो
घटना पछि राधाको पीडामा सहानुभूति व्यक्त गर्नेहरू ओइरिए । प्रदेश मुख्यमन्त्री, मन्त्री, सांसद, संघ–संस्थाका प्रमुख एंव प्रतिनिधिहरुले उनको पक्षमा ऐक्यवद्धता जनाए । सरोकारवाला निकायलाई दवाव दिइ घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया पनि थालियो ।
पूर्व मुक्तकमैया परिवारमा हुर्केकी उनको शिक्षा, स्वास्थ्य, रोजगारीलगायत परिपूरणको विषयमा व्यापक आवाज समेत उठेको छ । विभिन्न निकाय तथा व्यक्तिबाट थुप्रै सहयोगको आश्वासन पनि आएको छ । तर ठोस रुपमा कार्यान्वयन हुनेमा भने राधाका आफन्तहरुले आशंका व्यक्त गरेका छन् ।
राधाकी दिदी सन्ध्या योगीले भनिन्, ‘आश्वासन र प्रतिवद्धता धेरै आयो, हामी पूरा हुनेमा आशावादी छौं, तर कार्यान्वयनको पाटो कमजोर देखिरहेका छौ, यदि वास्तवमै समाजका बिकृतिहरुलाई पखाल्ने हो भने, समाजमा रहेका राधाहरूको दिगो व्यवस्थापनको ग्यारेन्टी राज्यले गर्नुपर्छ, सामाजिक अभियान्ताको रुपमा उनीहरुलाई रोल मोडल बनाउनुपर्छ ।’
साढे ७५ हजार अर्थिक सहयोग
दिदी योगीका अनुसार राधालाई हालसम्म साढे ७५ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई प्रदेश सांसद तारा लामा तमाङबाट ४ हजार, मिडवेय सिस्टर बेलायतद्वारा संकलित रकम रामप्रसाद राई फाउन्डेसनमार्फत ३६ हजार, लैङ्गिक हिंसा विरुद्धको जिल्ला राहत कोषबाट २० हजार, विकास महिला जागरण समाजबाट १ हजार ५ सय र नाम नखुलाउने सर्तमा एक जनाबाट १० हजार, एमाले नेतृ गरिमा शाहबाट ४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
६ जनाविरुद्ध मुद्धा
राधालाई बोक्सी आरोपमा कुटपिट गर्ने ६ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको छ ।
भोले बाबा उर्फ रामबहादुर चौधरी, किस्मती उर्फ किस्मत चौधरी, पार्वती उर्फ स्मारिका चौधरी, चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीविरुद्ध मुद्धा दायर भएको छ । उनीहरु विरुद्ध थप कानूनी प्रक्रिया समेत अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐनअनुसार दोषिलाई ५ देखि ८ वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।

प्रतिक्रिया