नागढुंगा-नौबिसे सुरुङमार्गको पहुँचमार्ग निर्माण सुरू, सुरुङ खन्ने उपकरण ल्याइँदै

विदुर खबर २०७६ पुष ४ गते २०:४०

काठमाडौं । नागढुंगा-नौविसे सुरुङमार्गको पोर्टलसम्म पुग्ने लिंक रोड (पहुँचमार्ग) निर्माण सुरू भएको छ। सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग शुक्रबारदेखि निर्माण सुरू भएको नागढुंगा-नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले बताए ।

Advertisement

उनका अनुसार पश्चिम पोर्टलतर्फ ५ सय ६५ मिटर पहुँचमार्ग र पूर्वतर्फ २ हजार ३ सय ७ मिटर सडक निर्माण हुनेछ। सुरुङमार्ग खन्ने बाहेक बाहिरको कामहरू भइरहेको आयोजनाले जनाएको छ। दुवैतिर सुरुङमार्ग बाहिरका काम भइरहेका छन्। ‘सुरुङमार्गका ५० प्रतिशतभन्दा बढी काम बाहिर नै छ,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा बाहिरका कामहरू थालिएको हो ।’

सुरुङमार्गको पश्चिम पोर्टल सिस्ने खोलामा ४४ रोपनीमा सर्भिसिङ सेन्टर, फ्युल स्टेशन, रिफ्रेसमेन्ट सेन्टर, स्थानीय उत्पादित सामाग्री प्रदर्शनस्थल, टोल गेट र अपरेसन बिल्डिङ लगायतका संरचनाहरू निर्माण गरिने डिजाइनमा छ। अपरेसन बिल्डिङबाट सुरुङमार्ग मर्मतको कामसँगै कुनै समस्या आए समाधान खोज्ने काम हुनेछ। चौबिसै घण्टा यो बिल्डिङमा जनशक्ति तयार अवस्थामा रहने छ। त्यसैगरि टोल गेटबाट सुरुङमार्गमा प्रवेश गर्ने सवारीसाधनका लागि निश्चित शुल्क उठाइने छ।

Advertisement

सिस्नेखोलामा सुरुङमार्गबाट निस्कने ढुंगा-माटोले भरेर समथर बनाएर संरचना निर्माण गरिने छ। निर्माण हुने क्षेत्रमा हाल रहेका केही घरहरू हटाउनुपर्ने भएको छ। त्यसका लागि सहमति भइसकेको खरेलले जानकारी दिए। उनका अनुसार आयोजनाले सहमति भएर रकम वितरणको तयारी गरिसकेको छ। त्यस्तै सिस्नेखोलाको बहावलाई समेत डाइभर्ट गर्न लागिएको छ।

पूर्वी पोर्टलतर्फ सर्भेको काम सकिएको छ । बलम्वुदेखि टुटिपाखासम्म नयाँ पहुचमार्ग निर्माण हुनेछ। सुरुङमार्ग अगाडिको सडकलाई फ्लाइओभर बनाएर डाइभर्ट गरिने छ भने बलम्वुमा समेत पृथ्वी राजमार्गबाट आवातजावत गर्ने सवारीसाधनलाई डिस्टर्ब नहोस् भनेर फ्लाइओभरसहित इन्टर-सेक्सन बनाउन लागिएको छ। यो आयोजनामा दुईवटा फ्लाइओभर निर्माण हुनेछन्। सातवटा साना पुल र १० वटा बक्स कल्भर्ट पनि निर्माण हुने डिजाइनमा छ ।

Advertisement

बैशाखबाट सुरुङ खन्ने योजना
निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेशनले सुरुङ खन्ने काम बैशाखदेखि मात्रै सुरू गर्ने योजना पेश गरेको छ । आयोजना प्रमुख खरेलका अनुसार सुरुङमार्ग ‘मेसिन वेस’ भएर निर्माण हुनेछ। सुरुङमार्गको काम थाल्न आवश्यक मेसिनरी उपकरण ल्याउने प्रक्रिया बल्ल सुरू भएको छ। जापानबाट सबै मेसिनहरू ल्याइने छ।

होल खोप्ने र चट्टान फोर्ने लगायतका कामहरू मेसिनबाटै गरिने छ। एकैपटक धेरै ठाउँबाट ४/५ मिटरसम्म होल खोपेर चट्टान फोर्न सकिने छ। त्यसका लागि ९ सय १५ टन विष्फोटक पदार्थको माग फारम स्वीकृत भएको खरेलले जानकारी दिए। ‘सुरुङमार्गमा निर्माण हुने क्षेत्रमा कडा र नरम गरि दुवै प्रकारका चट्टान छन्। मेसिन र विष्फोटक पदार्थ आइपुगेपछि सुरुङ खन्ने काम सुरू हुन्छ,’ खरेलले भने ।


हालसम्मको डिजाइनअनुसार यो परियोजना नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हुनेछ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टुटिपाखाबाट धादिङको सिस्नेखोला निस्कने छ। जसको लम्बाई २.७ किलोमिटर हुनेछ।

क्यारिज-वे ९.५ मिटर हुनेछ। ३.५/३.५ मिटरको दुईवटा लेनमा सवारीसाधन आउजाउ गर्ने छन्, बीचमा मेडियन हुनेछ भने दुईपट्टि सोल्डर रहने छ। सुरुङमार्गसँगै स्केप्ट टनेल पनि रहने छ। २ सय ५० मिटरको दुरीमा भित्र र बाहिर गर्न मिल्नेगरि जोडिन्छ। कुनै समस्या आए वा दुर्घटना भए उद्धारका लागि प्रयोग गरिने छ। एम्बुलेन्ससमेत सहजै हिड्न सक्ने गरि बनाइने डिजाइन छ।

प्रतिक्रिया