दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्रीको पहल

विदुर खबर २०७६ मंसिर ३० गते १८:२५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थाल्नुभएको छ ।

Advertisement

पौडेलले आज सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिनुभयो । बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताउनुभयो । प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेकोे बताउनुभयो ।

Advertisement

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेतले सडकको खराबी, सवारी चाप तथा लामो दूरीमा सवारी चालक परिवर्तन गरिनुपर्ने नियमको पूर्णरुपमा कार्यान्वयन गराउन नसकिँदा दुर्घटनाका घटनामा वृद्धि भएको उल्लेख गर्नुभयो । सिन्धुपाल्चोक दुर्घटनाले स्तब्ध बनायोः मन्त्री नेपाल सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाप्रति प्रदेश– ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दुःख व्यक्त गर्नुभएको छ ।

आज एक शोक सन्देश प्रकाशित गर्दै मन्त्री नेपालले दुर्घटनामा परी १५ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवार तथा आफन्तमा समवेदना प्रकट गर्नुभएको छ । सन्देशमा मन्त्री नेपालले घोइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

Advertisement

प्रतिक्रिया